NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ७ गते

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

कास्की । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको ‘मनुश्री भिग्नजीत जुनियर’ राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाडौँकी सारा पन्तले दोहोरो उपाधि जितेका छन् ।

पोखरा रङ्गशालाको टेनिस कम्प्लेक्समा यही वैशाख ३ गतेदेखि सुरु प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा दर्शिलले १६ वर्षमुनि पुरुष एकल र पुरुष ‘डबल्स’को उपाधि जित्दा सारा महिला एकलतर्फ १४ र १२ वर्षमुनिको दुवै विधामा च्याम्पियन बनिन् ।

दर्शिलले एकलतर्फ असव सम्राट हाडालाई ६–१ र ६–४ अङ्कको सोझो सेटमा पराजित गरेका हुन् । ‘ब्वाइज डबल्स’ मा सिर्जन भट्टराईसँगको ‘पार्टनरसीप’मा दर्शिल जोडीले प्रफुल्ल श्रेष्ठ र स्पन्दन उदासको जोडीलाई प्रतिस्पर्धात्मक खेलमा ६–०, ५–७ र १०–४ अङ्कले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।

यसैगरी साराले १४ वर्षमुनि महिला एकलतर्फको प्रतिस्पर्धामा आर्य पौडेलसँगको फाइनल खेलमा ६–१ र ६–४ अङ्कको नतिजा निकालिन् । साराले १२ वर्षमुनिको फाइनलमा स्वरा थापालाई ६–२ र ६–३ अङ्कले पराजित गर्दै दोहोरो जित निकालेकी हुन् ।

त्यसैगरी, १४ वर्षमुनिको ‘ब्वाइज सिङ्गल’तर्फ साङ्गे रोकायाले आसव सम्राट हाडालाई ६–४, ३–६ र १४–१२ अङ्कले पराजित गर्दै प्रथम हुन सफल भए । यसैगरी, १२ वर्षमुनिको ‘ब्वाइइज सिङ्गल’मा आरित मल्लले आर्यसराज पौडेललाई प्रतिस्पर्धात्मक खेलमा ३–६, ७–६ र १०–४ अङ्कले पराजित गर्दै प्रथम स्थान हासिल गरेका छन् ।

प्रतियोगिताको १६ वर्षमुनिको एकलतर्फ विजेताले नगद रु १५ हजार तथा उपविजेताले नगद रु सात हजार ५०० सहित मेडल प्राप्त गरे । चौथ वर्षमुनिको एकल विजेताले नगद रु १० हजार तथा उपविजेताले नगद रु पाँच हजारसहित मेडल प्राप्त गरे ।

यसैगरी, १२ वर्षमुनिको एकलतर्फ विजेताले नगद रु आठ हजार तथा उपविजेताले नगद रु चार हजारसहित मेडल प्राप्त गरेका छन् । प्रतियोगिताको आठ, नौ र दश वर्षमुनिको महिला तथा पुरुष एकल विजेता तथा उपविजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गरे । विजयी खेलाडीलाई प्रतियोगिताका मुख्य प्रायोजक मोहनबहादुर शाही, प्रतियोगिता संयोजक लोक गुरुङलगायतले पुरस्कृत गरे ।