NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण

लमजुङ । नेपाली महिला फुटबल टोलीकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारीको सम्मानमा मस्र्याङ्दी गाउँपालिका-९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा चोक’ नामाकरण गरिएको छ ।

आज एक कार्यक्रमबीच मस्र्याङ्दी–९ पामचोकका फुटबलर सावित्राको सम्मानमा साम्बा चोक नामाकरण गरिएको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले साम्बाको तस्बिर राख्दै आजदेखि यस क्षेत्रलाई साम्बा चोक नामाकरण गरिएको घोषणा गरे ।

आफ्नै ठाउँको चेली सावित्रा फुटबल खेलको क्षेत्रबाट पालिका, जिल्ला मात्र नभई नेपाललाई विश्वसामु चिनाउन सफल भएकाले पालिकावासी हर्षित रहेको उनको भनाइ छ । यस्ता कार्यले सावित्रालाई प्रेरणा मिल्ने र फुटबल क्षेत्रमा स्थापित उहाँलाई सम्मान गर्न साम्बा चोक नामाकरण गरिएको उनले बताए।

यसैगरी, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले सावित्राजस्तो व्यक्तिका नाममा चोकको नामाकरण हुँदा उनको योगदानको कदर भएको र जिल्लावासीका लागि पनि गौरवको कुरा भएको बताए । उनले साम्बाको जीवन अगाडि बढाउन सशस्त्रले पनि केही भूमिका खेलको बताए ।

यस्तै साम्बाको बुबा थमनबहादुर भण्डारीले आफ्नो छोरीको नाममा चोकको नामाकरण हुँदा धेरै खुसी लागेको बताए। फुटबल क्षेत्रमा योगदान गर्दै नेपाललाई नै चिनाउने काम गरिरहेको र यस्ता सम्मान कार्यले छोरीलाई अझै अगाडि बढाउन हौसला मिल्ने उनको भनाइ छ ।

अन्नपूर्ण पदमार्ग अन्नपूर्ण मनाङ जाने सडकमा अवस्थित मस्र्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई साम्बा चोक नामाकरण गर्दा उनको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुग्ने सोही वडाका वडाध्यक्ष हरिश्चन्द्र थापाले बताए।

सावित्रा नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित छिन् । सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेकी साम्बा हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक गोलकर्ता हुन् । सावित्रा अन्तरराष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी पनि हुन् । उनी लमजुङको तत्कालीन सिम्पानी गाविस–७ हाल मस्र्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा हुर्किएकी हुन् ।