स्वास्थ्य मन्त्रालयले थाल्यो मनसुनजन्य विपद् नियन्त्रणको तयारी
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् सुरु हुनु अघि नै आवश्यक पूर्वतयारी तथा रोकथामका लागि तयारी थालेको छ ।
वर्षायाममा विभिन्न सङ्क्रमण, रोग तथा महामारीको सम्भावनालाई दृष्टिगत गरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तयारी बैठक गरेर समयमै प्रतिकार्य तथा रोकथाम सम्बन्धमा छ वटा निर्णय गरेको उनको निजी सचिवालयले जनाएको छ ।
विपद् प्रतिकार्य तथा महामारी नियन्त्रणमा संलग्न स्वास्थ्य अधिकारीहरुसँग आज भएको बैठकमा मन्त्री पौडेलले स्वास्थ्य अधिकारीहरुलाई समस्या समयमा नै पहिचान गरेर तयारी गर्न निर्देशन दिए ।
मन्त्री पौडेलको निजी सचिवालयका अनुसार अब महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार सम्भावित महामारी हुने स्थानको पहिचान गरी सरसफाई र शुद्ध पानीको प्रयोग र व्यवस्थापनका लागि आवश्यक तयारी गर्नेछ ।
साथै, शुद्ध पानीको प्रयोगका लागि स्थानीय तहसम्मै प्रभावकारी सूचना सामग्री सम्प्रेषणका लागि राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले काम थाल्नेछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तहका द्रुत प्रतिकार्य समूहसँग भर्चुअल बैठक गरेर आवश्यक सूचना सङ्कलनका तथा तयारी अघि बढाउनेछ ।
महाशाखाले सातै प्रदेशमा स्वास्थ्यजन्य विपद् नियन्त्रणका लागि तालिमप्राप्त व्यक्तिको विवरण अद्यावधिक गरेर आवश्यकताअनुसार खटाउने छ । यसैगरी, राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र तथा राष्ट्रिय तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गरी आवश्यक तयारी थालिने छ ।
‘सङ्क्रामक रोग ऐन, २०२०’ लाई बदलिँदो परिस्थिति तथा आवश्यकताअनुसार संशोधन गर्न स्वास्थ्य सेवा विभागले एक साताभित्र आवश्यक तयारी गरेर मन्त्रालयमा पेस गर्ने निर्णय बैठकले गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया