खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी बजेट

काठमाडौँ । सरकारले खेलकुद क्षेत्रका लागि अहिलेसम्मकै बढी बजेट विनियोजन गरेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरे आर्थिक वर्ष २०८२/८३ को बजेटमा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यसपटक २ अर्ब ५६ करोड रुपैयाँ वृद्धि गरिएको हो ।
सरकारले कर्णाली प्रदेशमा आयोजना गरिने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि ५४ करोड रुपैयाँ विनियोजन गरेको छ । काठमाडौँको मुलपानी क्रिकेट रङ्गशाला, मोरङको गिरिजाप्रसाद कोइराला रङ्गशाला, कैलालीको फाप्ला क्रिकेट रङ्गशाला र रुपन्देहीको सिद्धार्थ रङ्गशाला निर्माणका लागि ४२ करोड रकम विनियोजन गरेको छ ।
यस्तै कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको स्तरोन्नतिका लागि सरकारले ४० करोड रकम विनियोजन गरेको छ । झापाको दमकमा सवै प्रकारका खेल प्रतियोगिता सञ्चालन गर्न सकिने आधुनिकस्तरको अन्तरराष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने बजेटमा उल्लेख गरिएको छ ।
चितवनस्थित गौतमबुद्ध क्रिकेट रङ्गशालाको सिर्जित सम्पति खरिद गर्न सशर्त अनुदानको व्यवस्था गरेको छ । अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीलाई प्रोत्साहन गरिने र उनीहरुका सन्ततिका लागि शैक्षिक छात्रवृद्धि प्रदान गरिने बजेटमा उल्लेख छ । खेल विधाको विविधीकरण र खेल पर्यटनको प्रवद्र्धन गर्न सरकारले सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाई अल्टिच्यूड स्पोट्र्स स्टेडियम बनाउने बजेट मार्फत घोषणा गरेको छ ।
त्यसैगरी सरकारले राष्ट्रिय एन्टी डोपिङ एजेन्सी सञ्चलान गर्न आवश्यक बजेट विनियोजन गरेको छ भने खेलकुदमा महिला सहभागितालाई बढाउन प्रशिक्षण तथा अभ्यास कार्यक्रम सञ्चालन गरिने भएको छ । त्यस्तै उत्कृष्ट महिला खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिने बजेटमा उल्लेख छ ।
प्रतिक्रिया