आइसिसी विश्वकप लिग–२ : स्कटल्याण्डमाथि नेपालको जित

काठमाडौं । करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई पराजित गर्दै विजयी भएको छ ।
स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा सम्पन्न भएको खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै विजयी भएको हो । दुई सय ९७ रनको लक्ष्य पछ्याएको नेपालले ४९ दशमलव पाँच ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालको जितमा करण केसी नायक बनेका छन् । उनले ४१ बलमा तीन चौका र चार छक्काको सहयोगमा अविजित ६५ रन जोडे ।
त्यसैगरी, ओपनर कुशल भुर्तेलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोड्दै अर्धशतक बनाए ।
कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए आसिफ ३३ बलमा दुई चौकाको सहयोगमा २० रनमा आउट भए ।
त्यस्तै, गुलशन झा ३० बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४२ रन बनाएर आउट भए । भीम सार्कीले ४८ बलमा तीन चौकाको सहयोगमा ४० बनाउँदा कप्तान रोहितकुमार पौडेल ५६ बलमा ३७ रनमा आउट भए ।
स्कटल्याण्डका लागि ब्रेण्डन मक्कमलानले तीन, माइकल लिस्क र ज्याक जार्भिसले समान दुई र जसपर डेभिडसनले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ९६ रन बनाएको थियो ।
स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे । उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे । फेन्ली म्याक्रिथले ६७ बलमा तीन चौका र एक छक्काको सहयोगमा ५५ रनमा आउट भए ।
कप्तान रिची बेरिङ्टन ४६ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४० रनमा आउट भए । म्याथ्यु क्रस ५६ बलमा तीन चौकाको सहयोगमा ३९ रनमा आउट भए भने माइकल लिस्क १५ बलमा १८ रन जोड्दै आउट भए । ब्रेण्डन मक्कमुलनले ३१ बलमा दुई चौकाको सहयोगमा १९ रन जोड्दा ओपनर जर्ज मुन्सी १२ रनमा आउट भए ।
नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान दुई र सन्दीप लामिछानेले एक विकेट लिए ।
नेपालले अब नेदरल्यान्डससँग यही जेठ २१ गते खेल्नेछ ।
ताजा अपडेट
-
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि
-
आरसीबीको विजय जुलुसमा भागदौड : ११ जनाको मृत्यु, शोकमा बदलियो उत्सव
-
किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल सजाय
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
महेश बर्तौला भन्छन् ,गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन आयोग पनि बन्दैन
प्रतिक्रिया