NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २७ गते

वर्षा लागेपछि त्रासमा बस्छन् बागमती किनारका बासिन्दा

सर्लाही  –उत्तरमा चुरे सिरानी हालेको सर्लाहीको पश्चिममा रौतहटसँगको सिमाना बागमती नदीले छुट्याएको छ। चुरेको खोच छिचोल्दै निस्कने बागमती बहावले वर्षाको समयमा नदी किनारका गाउँको उठिबास लगाउने गरेको छ। खोलामा बाढी आउँदा कैयौँपटक थातथलो छाडेर भागेको अनुभव यहाँका स्थानीय बासिन्दासँग छ।

सर्लाहीको बसवरिया गाउँपालिका-२ मानपुरका ६५ वर्षीय रामसेवक महतोले प्रत्येक बर्खामा यहाँ बाढी आउने गरेको बताए। ‘वर्षा शुरु भएपछि रातभरि राम्रोसँग निन्द्रा लाग्दैन’, उनले भने, ‘गत वर्ष खोलाले दुईतीन स्थानमा ड्याम फुटायो। पानी गाउँमा पस्न थालेपछि भागेर ज्यान जोगाएका थियौँ।’ आकाश गड्याङगुडुङ गर्न थालेपछि पशुचौपाया खोलेर गाउँतिर लाग्ने गरेको अनुभव उनले सुनाए।

गत वर्ष बागमतीमा आएको बाढीले बसवरियाको मानपुर क्षेत्र, रामनगर गाउँपालिका र बलरा नगरपालिकाको पश्चिम दक्षिण क्षेत्र प्रभावित भएको थियो। वर्षाको भेल गाउँ र खेतमा पसेपछि स्थानीय विस्थापित भएका रामनगर-१ का वडाध्यक्ष दिनेश यादवले बताए। जिल्लाको दक्षिण क्षेत्रमा पुगेपछि बागमतीसँग मिसिने अन्य सहायक नदीले स्थानीयलाई दुःख दिने गरेको उनको भनाइ छ।

रामनगर-१ छर्की टोलका विश्वनाथ मुखियाले गत वर्ष बागमती नदी गाउँ पस्दा एक साता बढीसम्म डुबानमा परेको जानकारी दिए। ‘फुसको छानो र खर लिपेर भित्ता बनाइएको घर बाढीले बगाइदिएपछि विस्थापित भएका थियौँ’, उनले भने। गत वर्षको दुःख सकिए पनि यो वर्ष उस्तै सास्ती बेहोर्नुपर्ने हो कि भन्ने चिन्ताले उनलाई सताउन थालेको छ। ‘चुनावका वेला भोट माग्न आउने नेताको अनुहार देख्न नपाएको धेरै भयो, यो वर्षको बर्खामा बाढीले कति बितण्डा मच्चाउने हो भन्ने चिन्ता लाग्छ’, उनले गुनासो पोखे।

चुरेको काखमा बागमती खुम्चिएर बगेको भए पनि जतिजति दक्षिण गयो उति फैलिँदै गएको छ। नेपाल छाडेर भारत प्रवेश गर्ने स्थानसम्म पुग्दा बागमतीले आफ्नो क्षेत्र फैलाएर झण्डै तीन किलोमिटरभन्दा बढी फराकिलो बनाएको छ। ‘बागमतीमा आएको वर्षाको भेल खेलाबाटभन्दा बढी खेत र बस्ती हुँदै बग्ने गर्छ’, बलरा-१ का हरिशरण कापरले भने। बागमतीको बाढीले गत वर्ष उनको खाने अन्नसमेत बगाएर लगेको थियो।

स्थानीय सरकारले समयमा बाढी रोकथामका लागि प्रभावकारी तयारी नगर्दा बर्सेनी सास्ती हुने गरेको उनको भनाइ छ। विपद् व्यवस्थापनका नाममा समस्या भइसकेपछि राहत वितरण गर्नुभन्दा समयमै क्षति न्यूनीकरणका उपायबारे पहल गर्नुपर्नेमा उनले जोड दिए। खोलाले खोल्नसक्ने क्षेत्रमा बाँधको निर्माण तथा मर्मत, सम्भावित जोखिमको आँकलन र पूर्वतयारी गर्ने हो भने यस क्षेत्रका नागरिकको विचल्ली नहुने उनको भनाइ छ।

ताजा अपडेट

नेपालवाच विशेष