सन् २०२६ को फिफा विश्वकपमा छनोट हुने टोलीको संख्या १३ पुग्यो
काठमाडौँ- सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले संसारभर छनोटका खेल भइरहेका छन्।
२०२६ को विश्वकपमा पहिलो पटक ४८ वटा टोलीले भाग लिँदैछन्। आयोजक तीन टोली अमेरिका, क्यानडा र मेक्सिकोले स्वतः स्थान बनाइसकेका छन्।
१० टोलीले छनोटमार्फत विश्वकपमा स्थान पक्का गरेको अवस्था छ। आयोजक र छनोट भएका गरी अहिलेसम्म १३ टोलीले विश्वकप स्थान पक्का गरेका छन्।
एसियाबाट जापान र इरानले विश्वकप खेल्ने पक्का गरेका थिए। दुवै टोलीले तेस्रो चरणको छनोटमार्फत विश्वकपमा स्थान पक्का गरेका हुन्। अघिल्लो साता जोर्डन, उज्वेकिस्तान र दक्षिण कोरियाले विश्वकपको टिकट पक्का गरेका थिए। मंगलबार अस्ट्रेलियाले पनि एसियाबाट विश्वकपमा स्थान बनायो। एसियाबाट अहिलेसम्म ६ टोलीले विश्वकपमा स्थान बनाइसकेका छन्। जोर्डन र उज्वेकिस्तानले पहिलो पटक विश्वकपमा स्थान बनाएका हुन्।
यता ओसियाना क्षेत्रबाट न्युजिल्यान्डले पनि विश्वकप खेल्ने पक्का भएको छ।
दक्षिण अमेरिका छनोटबाट अर्जेन्टिना फिफा विश्वकप २०२६ मा पुग्ने पहिलो देश बनेको थियो। मंगलबार ब्राजिल र इक्वेइडरले पनि विश्वकपमा स्थान बनाए। ब्राजिलले दुई खेलअघि स्थान पक्का गर्ने क्रममा पाराग्वेलाई १-० ले पराजित गर्यो। इक्वेइडरले पेरुसँग बराबरी खेल्यो।
४८ टोलीबीच प्रतिस्पर्धा हुने विश्वकपमा एसियाबाट ८ टिम छनोट हुने प्रावधान छ। एसियाबाट अब २ टोली सिधा छनोट हुन बाँकी छ। अफ्रिकाबाट ९ टिम, उत्तर अमेरिकाबाट ६ टिम, दक्षिण अमेरिकाबाट ६ टिम, ओसियानाबाट १ टिम र युरोपबाट १६ टिम गरी कुल ४६ टिम छनोट हुनेछन्।
यस्तै युरोपबाहेक अरु क्षेत्रका लागि प्लेअफ कोटा पनि हुनेछ। दुई टिम अन्तरमहादेशीय प्लेअफबाट छनोट हुने प्रावधान छ।
४८ टिमलाई अब चार(चार टिम सम्मिलित १२ समूहमा प्रतिस्पर्धा गराइने छ।
१२ समूहका शीर्ष दुई टिम र तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टिम गरी कुल ३२ टिम दोस्रो चरणमा पुग्ने फिफाले जनाएको छ। फिफा विश्वकप २०२६ मा तीन देशका १६ सहरमा खेल हुनेछन्।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया