१७ दिनपछि फाप्लुमा उडान, नियमित उडान तालिका कागजमै सीमित

सोलुखुम्बु– पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि बुधबार जहाज उडान भएको छ ।
प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको जहाज उडाउन १७ दिनपछि बुधबार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ ।
प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले काठमाडौंबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाडौं फर्किएको हो । जहाज १२ जना यात्रु लिएर फाप्लु आएको भए पनि जहाजले १० जना यात्रु लिएर काठमाडौं फर्किएको अधिकृत थापाले जानकारी दिए ।
यस भेगको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले बारम्बर लामो समय उडान ठप्प हुने गर्दछ । जेठ अन्तिमबाट सुरु भएको वर्षा र बाक्लो कुहिरोले लगातार १७ दिनसम्म विमानस्थल ठप्प भएको थियो ।
जिल्ला अस्पतालमा उपचार सम्भव नभएका जटिल अवस्थाका बिरामी तथा अशक्तहरु काठमाडौं पठाउन सकस परेको स्थानीय पदम श्रेष्ठले बताए । उडान बन्द हुँदा गम्भीर अवस्थाका बिरामीको जीवन जोखिममा परेको स्थानीय स्वास्थ्यकर्मीहरु बताउँछन् ।
काठमाण्डौं ‘रेफर’ गरिएका बिरामीलाई जहाजमार्फत पठाउन नसकिँदा घण्टौँ लगाएर गाडीमार्फत ओखलढुङ्गा तथा विराटनगर पठाउनु परेको स्थानीय पेम्बा शेर्पाको भनाइ छ ।
सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकको मुख्य गेटवे लुक्ला हो भने फाप्लु वैकल्पिक स्थलका रुपमा लिने गरिन्छ । मौसमले उडान अवरुद्ध हुँदा फाप्लु हुँदै लुक्ला पुग्ने पर्यटकहरूले योजना परिवर्तन गरिरहेको यातयात व्यवसायी मिङ्मार शेर्पाले बताए ।
नियमित उडान तालिका कागजमै सीमित
जिल्लाका सदरमुकाम नजिकको फाप्लु विमानस्थलमा हाल नेपाल एयरलाइन्सबाहेक अन्य निजी विमान कम्पनीहरुले नियमित उडान तालिका राखेका छैनन् । मौसम प्रतिकूल भइरहने र यात्रुसमेत पर्याप्त नहुने भएपछि निजी विमान कम्पनीहरुले नियमित उडान तालिका समावेश नगरेका हुन् ।
नेपाल एयरलाइन्सले हप्तामा सोमबार, बुधबार, शुक्रबार र शनिबार काठमाण्डौं–फाप्लुमा उडान भर्ने तालिका तय गरेको छ । तर, मौसमका कारण ती उडानहरु अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार हरेक महिना औसत १०–१२ दिन मात्र उडान हुन सक्ने अवस्था रहन्छ । अर्कोतर्फ नेपाल एयरलाइन्ससँग अहिले फाप्लुका लागि चल्ने ट्विनअटर जहाजको सङ्ख्या सीमित छ । यन्त्रको अवस्था, पाइलटको अभाव र अन्य प्राविधिक कारणले गर्दा समेत तालिका प्रभावित हुने गरेको प्राधिकरणले जनाएको छ ।
फाप्लुबाट काठमाडौंसम्मको सडक मार्गको दूरी करिब २७५ किलोमिटर छ तर, त्यो सडक अहिले पनि गाडीका लागि पूर्ण रूपमा उपयुक्त छैन । बीपी राजमार्गको सिन्धुली, खुर्कोट तथा काभ्रे क्षेत्रको सडक पहिरोका कारण जोखिमपूर्ण भएकाले जिल्लावासीलाई सङ्घीय राजधानी काठमाडौं आउजाउ गर्न कठिन छ ।
ताजा अपडेट
-
उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आग्रह
-
बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
-
गैंडाले आक्रमण गर्दा घाँस काट्न गएका दराईको ज्यान गयो
-
अन्तरजातीय विवाहको चोट खेप्दै मनिका परियार, घरबाट निकालिएको गुनासो
-
दमौलीमा पानीको हाहाकार: एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने
प्रतिक्रिया