ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प
फुङ्लिङ (ताप्लेजुङ)- ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प भएको छ । चार महिना लामो बन्दपछि चैतको अन्तिम साताबाट पुनः सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको हवाई सेवा जेठ ३० गतेयता एकपटक पनि सञ्चालन हुन सकेको छैन ।
निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार बर्खायाम सुरू भएसँगै कुहिरो र कम भिजिबिलिटीका कारण असारयता चार उडान प्रभावित भएका छन् । प्रत्येक सोमबार र शुक्रबार नियमित हुने काठमाडौँ–ताप्लेजुङ उडान निरन्तर रद्द हुन थालेपछि यात्रुहरू मर्कामा परेका छन् ।
इञ्चार्ज कार्कीले भने, “मौसम प्रतिकूल भएकाले जहाजले अवतरण गर्नसक्ने अवस्था छैन । भिजिबिलिटी न्यून भएकाले सुरक्षाको दृष्टिकोणले उडान रोकिनुपरेको हो ।”
शुक्रबार ताप्लेजुङ–काठमाडौँ र काठमाडौँ–ताप्लेजुङ उडानमा तीन–तीनजना यात्रुले टिकट लिएका थिए । तर मौसम सुध्रिन नसक्दा उडान रद्द भयो । नियमित उडान नहुँदा जिल्ला आवतजावत गर्ने यात्रुको सङ्ख्या घट्दै गएको छ ।
टिकट लिएर पनि गन्तव्यमा पुग्न सकिने विश्वास नभएपछि यात्रुहरू सवारीसाधनको भरमा लामो दूरीको यात्रा गर्न बाध्य भएका छन् । वर्षायाममा बारम्बार उडान अवरुद्ध हुने समस्या दोहोरिएपछि यात्रुहरू वैकल्पिक र भरपर्दो यातायातको माग गर्दै आएका छन् ।
ताप्लेजुङको दुर्गम भूगोलमा हवाई सेवा जीवनरेखाजस्तै रहेकाले यस्ता समस्या समाधानका लागि दीर्घकालीन रणनीति आवश्यक देखिएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया