संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।
संसद् दिवस २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “हाम्रो साझा उद्देश्य संसद्लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्दछ, यसका लागि सांसदहरूको क्षमतामा वृद्धिसँगै संसदीय अभ्यासमा आधुनिक प्रविधिको प्रयोग, विषयगत अनुसन्धान, जनतासँगको सम्बन्ध र कार्यपालिकामाथिको निगरानीको भूमिकामा सुधार आवश्यक छ।”
संसद् दिवस मनाइरहँदा संसद्ले अझ प्रभावकारी रुपमा समाज र राष्ट्रको हितमा काम गर्नुपर्ने उल्लेख गर्दै उनले भने, “संसद्लाई अझ बढी जनताको आवाज उठाउने थलोका रूपमा कसरी स्थापित गर्न सकिन्छ भन्नेतर्फ हामी सबैको ध्यान जान जरूरी छ।”
उनले संसद्लाई सत्ताको जोड घटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रुपमा विकास गर्न संसद् दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेका छन्।
अध्यक्ष दाहालले संसद् दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दै लोकतन्त्र प्राप्तिका लागि भएका ऐतिहासिक जनसंघर्ष, जनयुद्ध र जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।
नेपालमा पहिलो जननिर्वाचित संसद्को पहिलो बैठक बसेको विसं २०१६ असार १६ गतेको स्मरण गर्दै हरेक वर्ष आजकै दिन संसद् दिवस मनाउने गरिएको छ।
नेपालमा संसदीय अभ्यास सुरु भएको यस दिनले संसदीय सर्वोच्चता, विधिको शासन र लोकतन्त्रप्रति अझ इमान्दार, प्रतिबद्ध र जिम्मेवार बन्न जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज र पत्रकार लगायत सबैलाई प्रेरणा दिनेछ भन्ने अध्यक्ष दाहालको विश्वास छ।
सन्देशमा भनिएको छ, “संसद् जनप्रतिनिधिहरूको सर्वोच्च थलो हो, संसद्मा विविध विचार, दर्शन र राजनीतिक दलहरूको प्रतिनिधित्व रहन्छ, संसद्ले कानुन बनाउँछ, बजेट स्वीकृत गर्छ, सरकारको गतिविधिमा निगरानी गर्छ र आम नागरिकका अधिकार सुनिश्चित गर्ने कानूनी व्यवस्था गर्दछ।”
ताजा अपडेट
-
इटालीबाट परराष्ट्र मन्त्रीको आह्वान-‘जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ’
-
एसइईमा ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद थापाको घोषणा
-
नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढ्यो
-
रुपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
-
संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन सुरू
प्रतिक्रिया