NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

तत्कालीन मन्त्री र पूर्वमन्त्रीको घुसको डिलः ७ जनाविरुद्ध मुद्धा दायर, पूर्वमन्त्री बलराम अधिकारीमाथि छुट्टै अनुसन्धान हुने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारका एक मन्त्री, एक पूर्व मन्त्री तथा वहालवाला सांसद र अन्य ४ जना मुछिएको घुस प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

आयोगले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, तत्कालीन वहालवाला सांसद तथा पूर्व मन्त्री रञ्जिता श्रेष्ठ, मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारी, विचौलीया सुजन कुमार तामाङ, याम कुमारी गुरुङ, तुल्सीराम बुढा मगर र खेम बहादुर पुनलाई प्रतिवादी बनाएको छ । आयोगले गुप्ता, श्रेष्ठ, तामाङ, गुरुङ र मगरविरुद्ध ७८ लाख र पुन र अधिकारी विरुद्ध ५३ लाख रुपैयाँ विगो मागदाबी गरेको छ ।

यो प्रकरणमा मुछिएका तत्कालीन भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि भने छुट्टै अनुसन्धान गर्ने आयोगको तयारी छ । उनले पनि यो प्रकरणमा ३२ लाख रुपैयाँ घुस लिएको आरोप छ । उनीसहित तत्कालीन सचिव अर्जुन पोखरेल(हाल अवकाश प्राप्त)ले ५ लाख, १० हजारको सामान, ग्लेनफिडिच रक्सी र दुईवटा न कुखुरा घुस लिएको विषयमा पनि आयोगले छुट्टै अनुसन्धान गर्नेछ ।

अनुसन्धानमा तत्कालीन मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीका जिल्ला अध्यक्ष नियुक्तिका लागि २५ लाख गरी कुल ७८ लाख रुपैयाँ घुस लिएको खुलेको हो । त्यस्तै पूर्वमन्त्री रञ्जिता श्रेष्ठले पनि यस प्रकणमा विचौलीको काम गरेको आयोगको अनुसन्धानबाट देखिएको छ ।

अख्तियारले प्रयोग गरेको Call Details Record (CDR), लोकेशन ट्र्याक र Voice Spectrum Analysis (VSA)मार्फत कसले कससँग, कहिले र कहाँ सम्पर्क ग-यो भन्ने पूरा डिजिटल नक्सा तयार पारेको छ । मन्त्रीका व्यक्तिगत सहायक र सम्बन्धित व्यवसायीबीच निरन्तर सम्पर्क, मिति मिलाएर भेटघाट र रकमको सहमति भएको आयोगले देखाएको छ।

पैसा कहाँ–कहाँ पुग्यो?

अख्तियारले पत्ता लगाएको विवरणअनुसार, २०७८ असारदेखि २०८१ असारसम्म तुल्सीराम बुढा मगरको नाममा खोलिएको खाताबाट २ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम अनुष्का शाह, यमकुमारी गुरुङ, डुंगराज पन्त र सेवाकान्त गुरुङका खातामा पुगेको छ ।
यी सबै रकमहरूलाई “घुस रकम वितरण” का रूपमा आयोगले व्याख्या गरेको छ ।

विशेष गरी सुजन कुमार तामाङमाथि फरार प्रतिवादी तुलसीराम बुढा मगरलाई नियमित रूपमा आर्थिक र अन्य किसिमको सहयोग गरेको गम्भीर आरोप लगाइएको छ। अनुसन्धानमा फेला परेका बैंक कारोबारको विवरणअनुसार, तामाङले गरिमा बिकास बैंक लिमिटेडको खाता नम्बर ०६५१०२०१९४१९५००००१ मार्फत ठूलो रकम लेनदेन गरेको पाइएको छ। जेठ महिनामा मात्रै एक करोड रुपैयाँभन्दा बढी रकमको संदिग्ध कारोबार भएको बैंक स्टेटमेन्टले देखाएको छ।

बैंक विवरणअनुसार, २०८१ जेठ २९ गते अनुषा शाहको खाताबाट तामाङको खातामा एक करोड रुपैयाँ जम्मा गरिएको थियो। सोही दिन याम कुमारी गुरुङलाई एक करोड रुपैयाँ निकासा गरिएको छ। त्यस्तै जेठ ३१ गते याम कुमारी गुरुङलाई ७५ लाख र दुर्गाप्रसाद पन्तबाट ७५ लाख रुपैयाँ जम्मा गरिएको बैंक रेकर्डमा उल्लेख छ । यस्तो ठूलो रकमको कारोबार र त्यसको स्रोत तथा उपयोगबारे संदिग्ध रहेको आयोगको निष्कर्ष छ।

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष