NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

नेपाल कबड्डी लिगको दोस्रो संस्करणका लागि पाँच सय १२ खेलाडीको नाम दर्ता

काठमाडौं। नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो संस्करणका लागि ५१२ स्वदेशी खेलाडीको नाम दर्ता भएको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले जानकारी दिए।

प्रतियोगिताको पहिलो संस्करणमा २७८ नेपाली खेलाडी एनकेएलमा दर्ता भएका थिए। दोस्रो संस्करणमा बाग्मती प्रदेशबाट सबैभन्दा बढी १५५ खेलाडीको नाम दर्ता गरिएको छ। त्यस्तै, सुदूरपश्चिमका १०३, लुम्बिनीबाट ९८, मधेसबाट ७०, कोशीबाट ३५, कर्णालीबाट २७ र गण्डकी प्रदेशबाट २४ जना खेलाडी छन्।

पहिलो संस्करणमा छ सहरका छ टोलीले एनकेएलमा प्रतिस्पर्धा गर्न ड्राफ्टमार्फत ८४ खेलाडी लिएका थिए। जसमा ६६ जना नेपाली खेलाडी थिए। ‘प्रतियोगितामा विदेशी खेलाडी पनि आकर्षण छ, दोस्रो संस्करणको ‘ड्राफ्ट’मा ४० देखि ५० जना विदेशी खेलाडी लिनेछौँ’, प्रमुख बेगानीले भने। पहिलो संस्करणमा थाइल्यान्ड, बंगलादेश, श्रीलंका र केन्याका १८ खेलाडीले एनकेएलमा सहभागिता जनाएका थिए।

प्रतियोगितामा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले सहभागी जनाएका थिए।

राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित पहिलो संस्करणको फाइनलमा जनकपुरले काठमाडौंलाई ४३–४१ ले पराजित गर्दै उपाधि जितेको थियो। दोस्रो संस्करणको मिति चाँडै सार्वजनिक हुने आयोजकले जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष