नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर आकर्षित काली पूजा पण्डाल बनाइयो
काठमाडौँ । झापाको भद्रपुरमा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिरहरू राखेर काली पूजाको आकर्षित पण्डाल बनाइएको छ।
जेनजी आन्दोलन पश्चात् देशमा देखिएको वर्तमान राजनीतिक परिस्थितले निराश भएका जनतालाई भर्खरै सिनियर पुरुष राष्ट्रिय क्रिकेट टोलीले दिएको उत्साहपूर्वक खुशीलाई आत्मसात् गर्दै क्लब बांगला भद्रपुरले क्रिकेट खेलाडीहरूको तस्बिर राखेर काली पूजा पण्डाल बनाएको पूजा समितिका संयोजक विजय साहले जानकारी दिए।
भद्रपुर ६ मा बनाइएको काली पूजा पण्डालमा सिनियर पुरुष, सिनियर महिला र पूर्व राष्ट्रिय खेलाडीहरूको ३५ वटा तस्बिर राखिएको छ।
जेनजी आन्दोलन पश्चात् देशमा देखिएको वर्तमान राजनीतिक परिस्थितिले निराश देखिएको जनतामा राष्ट्रिय क्रिकेट टोलीले आइसिसी टी-ट्वान्टी विश्वकप एसिया तथा इष्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेर जनतालाई खुसी दिँदै राष्ट्रको गौरव बढाएको छ।
साथै सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी-ट्वान्टी विश्वकप यात्रामा अझ ठुलो सफलता प्राप्त गरोस् भन्ने उद्देश्य राखेर खेलाडी आकृतिको पण्डाल निर्माण गरिएको पूजा समितिका निर्मल घोषले जानकारी दिए।
पूजा स्थलमा कार्तिक ७ गते स्थानीय तथा भारतीय कलाकारहरूको सहभागितामा वृहत् सांगीतिक कार्यक्रम पनि आयोजना हुने समितिका सदस्य अरूप घोषले जानकारी दिए। बंगाली समुदायका युवाहरूको क्लब बांगला भद्रपुरले अघिल्लो वर्ष केदारनाथ मन्दिर आकृतिको काली पूजाको पण्डाल बनाएर चर्चामा आएका थिए। यस क्लबले विगत ९ वर्षदेखि विभिन्न आकृतिमा पण्डाल निर्माण गरी काली पूजा गर्दै आइरहेको समितिका सदस्य सञ्जय आइचले जानकारी दिए।


प्रतिक्रिया