जेनजी विद्रोह : गोलीले मारिएका अधिकांशको कम्मरमाथि प्रहार भएको पुष्टि
काठमाडौं । गत भदौ २३ गते जेन–जी पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको गोली लागी मारिएका ३९ मध्ये सबैजसोको कम्मरमाथि प्रहार भएको पाइएको छ ।
कान्तिपुर दैनिकले आज यसबारे समाचार प्रकाशित गर्दै भदौ २३ मा गोली लागी मारिएका ३९ जनालाई कम्मरमाथि प्रहार गरिएको पोस्ट्मार्टम रिपोर्टबाट पुष्टि भएको लेखेको छ ।
समाचारअनुसार काठमाडौं उपत्यकामा गोली लागेर ३५ जनाको मृत्यु भएको थियो । त्यसमध्ये १९ जनाको छाती, १० जनाको टाउको, ४ जनाको पेट र २ जनाको घाँटीमा गोली लागेको पोस्ट्मार्टम रिपोर्टले देखाएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको फरेन्सिक विभागले दिएको प्रतिवेदनबाट यस्तो पुष्टि भएको हो ।
‘सबैजसो मृतकको कम्मरमाथि गोली लागेको भेटिएको छ । त्यसमा पनि धेरैको छातीमा गोली लागेको छ । टाउकोमा पनि गोली लागेको छ,’ प्राथमिकतापूर्वक पहिलो पृष्ठमा प्रकाशित समाचारमा कान्तिपुरले लेखेको छ ।
कान्तिपुरले आफ्नो समाचारमा शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीको भनाइ पनि समेटेको छ । जसमा उनले भनेका छन्–सबैजसो मृतकको कम्मरमाथि गोली लागेको भेटियो । त्यसमा पनि धेरैको छातीमा गोली लागेको छ । टाउकोमा पनि गोली लागेको छ । एक जनालाई तीन वटा रबर बुलेट लागेको देखिन्छ । अरू सबैको शरीरमा मेटल बुलेट लागेको देखिन्छ । एउटा शवमा भने छाती र घाँटीमा ३ वटा रबर बुलेट लागेको पायौं ।’
गोली लागेर मारिएका सबैलाई राइफललगायत घातक हाई भेलोसिटी हतियारबाट गोली लागेको पनि पोस्ट्मार्टम रिपोर्टले देखाएको छ । ‘१ देखि २ वटा शवमा मात्र लो भेलोसिटी (पेस्तोललगायत छोटा) हतियारको गोली लागेको पाइयो,’ चौधरीले कान्तिपुरसँग भनेका छन्, ‘लगभग सबैको शवमा टाढाबाट आएको गोली लागेको देखिन्छ । नजिकैबाट गोली चलेको भए शवको छाला, रौं जलेको हुनुपथ्र्यो, त्यस्तो पाइएन ।’
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले फेसबुकलगायतका केही सामाजिक सञ्जालमाथि प्रतिबन्धको निर्णय गरेपछि जेनजी पुस्ताले त्यसलाई हटाउनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नुपर्नेलगायत माग राखेर गत भदौ २३ गते शान्तिपूर्ण प्रदर्शन गरेका थिए । त्यसक्रममा सरकारले आन्दोलनकारीमाथि अन्धाधुन्न गोली प्रहार गर्दै २२ जनाको ज्यान लिएको थियो । त्यसको आक्रोशमा भोलिपल्ट भएको उग्र प्रदर्शनमा ४१ जना प्रदर्शनकारीको मृत्यु हुनुका साथै १० कैदीबन्दी र तीन प्रहरीको समेत ज्यान गएको थियो । प्रहरीको मृत्यु प्रदर्शनकारीको कुटपिटबाट र कैदीबन्दीको भाग्ने क्रममा प्रहरी र सेनाले चलाएको गोलीबाट मृत्यु भएको थियो ।
हेर्नुहोस् आजका पत्रपत्रिका
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने





प्रतिक्रिया