NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

एनपिएलः क्रिकेट महाकुम्भको शानदार सुरुआत

काठमाडौँ । ‘फ्लड लाइट’को उज्यालो र १० हजारभन्दा बढी दर्शकलाई साक्षी राखेर नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण आजदेखि सुरु भयो । कीर्तिपुरको चिसो डाँडामा साँझ अबेरसम्म हजारौँ दर्शक क्रिकेटको रौनकमा रमाए ।

तीन दिनअघि नै उद्घाटन खेलको टिकट ‘सोल्ड आउट’ भए पनि खेल नसकिँदासम्म मैदान बाहिर पनि हजारौँ दर्शक बसिरहे । टिकट नपाउनेहरु कसैले रुखमै चढेर खेल हेरे भने कतिले अग्लो स्थानमा बसेर टाढैबाट हेर्दै प्रतियोगिताको साक्षी बने ।

नेपाली क्रिकेटको यो महाकुभ्म मेला यही मङ्सिर २७ गतेसम्म यसैगरी चल्नेछ । जहाँ हरेक दिन हजारौँ दर्शकले साथ दिनेछन्। एनपिएलको पहिलो संस्करण अपेक्षा गरिएभन्दा बढी सफल भएपछि दोस्रो संस्करण थप स्तरीय मात्रै भएको छैन, यसले नेपाली मनलाई एकापसमा जोड्ने बलियो माध्यम पनि भएको छ ।

पूर्वाधारका हिसाबले यस वर्ष फ्लड लाइट थपिएको छ । नेपाली दर्शकले पहिलोपटक क्रिकेटमा ‘डे–नाइट’ खेल हेर्न पाएका छन् । गत वर्ष खुला मैदानमा खचाखच भरिएका दर्शक यसपटक सहज रुपमा सिटमा बसेर रमाए । नयाँ क्रिकेट खेलाडीले मौका पाए । एनपिएलको चर्चा विदेशी क्रिकेटप्रेमीमाझ अझ बलियो भयो । विदेशका पूर्वक्रिकेटरहरु प्रशिक्षकका रुपमा एनपिएलमा जोडिएका छन् ।

त्रिवि क्रिकेट मैदानको प्यारापिट निर्माणमा रु ४४ करोड ७७ लाख र फ्लड लाइटका लागि रु ४२ करोड १९ लाख खर्च भइसकेको छ । एउटै मैदानको स्तरोन्नतिका लागि यति ठूलो रकम एकै पटक जुट्न दर्शकको साथकै कारण सम्भव भएको हो । त्यसैले त एनपिएल खेलमा मात्रै सीमित नभई आर्थिक र सामाजिक दृष्टिले पनि महत्त्वपूर्ण बनेको छ । यो पछिल्लो समय विविधतायुक्त नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने सेतु बनेको छ ।

एनपिएल दोस्रो संस्करणको पहिलो खेल पहिलो संस्करणका विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजबीच भयो । जसमा काठमाडौँ गुर्खाजले नतिजा पाँच विकेटले आफ्नो पक्षमा पार्न सफल भयो । एनपिएलको पहिलो खेलमा राष्ट्रिय टिमका ओपनर आशिफ शेखले अर्धशतकीय पारीसँगै दर्शकको मन जिते । पहिलो पारीमा विदेशी खेलाडी मिलिन्द कुमारले किफायती बलिङ गर्दै महत्त्वपूर्ण तीन विकेट लिए । जनकपुरका लागि मयन यादवले ३४ रन र लहिरु समाराकुनले २२ रन जोडे र जनकपुरले काठमाडौँ सामु १३१ रनको सामान्य लक्ष्य प्रस्तुत ग¥यो ।

लक्ष्य पछ्याएको काठमाडौँको सुरुआत निकै राम्रो भयो । पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेको काठमाडौँलेको गति भने त्यसपछि सुस्त भयो । उसका लागि ओपनरद्वय आकाश त्रिपाठी र बेन चाल्र्सवर्थले क्रमशः ३९ र ४६ रनको योगदान दिए ।

काठमाडौँ गुर्खाजका कप्तान करण केसीले खेलपछि प्रतिक्रिया दिँदै आजको खेलमा स्पिनरलाई पिचले साथ दिएको बताए । “टियुको मैदान कहिले बलर त कहिले ब्याटरलाई साथ दिन्छ, आज स्पिनरलाई राम्रो भयो”, उनले भने । दोस्रो संस्करणको एनपिएलमा पनि पहिलो संस्करणमा जस्तै एन्ड्रयु लियोनार्डले ‘कमेन्ट्री’मार्फत टेलिभिजन दर्शकलाई थप रोमाञ्चक बनाए । सदाझैँ विदेशी ‘कमेन्टेटर’लाई नेपाल र ढाका टोपीको बयान गर्न छुट्टाएनन् । आयरल्याण्डमा जन्मिए पनि एन्ड्रयु नेपाली दर्शकका कारण चर्चामा छन् । उनलाई नेपाली दर्शकले टक्लु उपनाम दिएका छन् ।

एनपिएल विजेताले टोलीले रु एक करोड १० लाख पाउने छ । साथै दोस्रो हुनेले रु ५१ लाख र तेस्रो हुनेले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा विराटनगर किङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।

विदेशी खेलाडी

विराटनगर किङ्सले यसपटक दक्षिण अफ्रिकाका पूर्वकप्तान फाप डुप्लेसिलाई भित्र्याएको छ । त्यसबाहेक न्यूजिल्याण्डका मार्टिन गप्टिल र मर्चेन्ट डि लांगे, स्कटल्याण्डका जर्ज मुन्सी, अष्ट्रेलियाका हिजलेट र अमेरिकाका शुभम रञ्जनेलाई ल्याएको छ ।
पोखरा एभेञ्जर्सले यसपटक न्यूजिल्याण्डका स्टार जिमी निशम, इंग्ल्याण्डका जेसन रोय, एडम रोसिंटन, ड्यान डौथवेट र वेस्ट इन्डिजका रेयमन रइफरलाई ल्याएको छ । सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियाबाट क्रिस लिन र जोस ब्राउन, न्युजिल्याण्डबाट स्कट कुग्लाइन र अमेरिकाबाट हरमित सिंहलाई भित्र्याएको छ ।

जनकपुर बोल्ट्सले दक्षिण अफ्रिकाका वेन पार्नेल, श्रीलङ्काबाट लाहिरु मिलान्था, लाहिरु समरकुन, सङ्गीत कोरे, नामिबियाका जाननिकोल लोफ्टी इटन र अमेरिकाका सञ्जय कृष्णमूर्तिलाई ल्याएको छ । चितवन राइनोजले इंग्लायण्डबाट रवि वोपरा, डेविड मलान, सैफ अली जैब, पाकिस्तानबाट सोहेल तनबिर र युगाण्डाका अल्पेस रामजानीलाई ल्याएको छ ।

लुम्बिनी लायन्सले अष्ट्रेलियाबाट डार्सी सर्ट, अफगानिस्तानका गुल्बदिन नाइब, इटालीका थोमस ड्राका तथा नामिबियाका रुबेन ट्रम्पलम्यान र जेजे स्मितसँग अनुबन्ध गरेको छ । काठमाडौँ गुर्खाजले विदेशी कोटाबाट इङ्ग्लायण्डका जोन सिम्पसन, बेन चाल्र्सवर्थ, नामिबियाका जेरार्ड इरासमस, भारत सन्नी पटेल, दक्षिण अफ्रिकाका रिकार्डो भास्कोनसेलोस र अमेरिकाका मिलिन्द कुमारलाई अनुबन्ध गरेको छ ।

साथै कर्णाली याक्स पनि अष्ट्रेलियाका विल बोसिस्टो, भारतका प्रियांक पाञ्चाल र जयकिशन कोलसावाला, नेदरल्याण्ड म्याक्स ओडाउड, स्कटल्याण्डका मार्क वाट र अफगानिस्तानका नाजिबउल्लाह जाद्रानलाई अनुबन्ध गरेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष