सिमरा घटना : सुध्रन पर्ने एमाले कि जेन–जी ?
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र निरन्तर भड्काव अभिव्यक्ति दिँदै आइरहेका सोही पार्टीका अर्का नेता महेश बस्नेतले कुनै अवरोध सामना गर्नु परेको थिएन भने बुधबार बारा पुुगेर पार्टीको कार्यक्रममा सहभागिता जनाउने थिए । तर सिमरा विमानस्थलबाहिर जेन–जी समूहले गरेको प्रदर्शनपछि उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिन बाध्य भए ।
घटनापछि एमालेले आफूहरूको हिँड्डुल, सभा, सम्मेलन गर्न पाउने हक खोसिएको मात्र जनाएको छैन, यस्तो स्थितिमा कसरी फागुन २१ गते निर्वाचन हुनसक्छ भनेर प्रश्न पनि गरिरहेको छ ।
जेन–जीहरूले भने आफ्नो पूर्वनिर्धारित शान्तिपूर्ण प्रदर्शनमा एमाले कार्यकर्ताले हस्तक्षेप गर्दै गुण्डागर्दी शैलीमा कुटपिट गरेको र त्यसकै प्रतिक्रियास्वरूप आफूहरूले बुधबार सिमरा विमानस्थलबाहिर प्रदर्शन गरेको बताएका छन् ।
सिमरा घटनाको पछाडि जेन–जी आन्दोलनको भावना अवमूल्यन गर्ने, हियाउने, ललकार्ने एमाले प्रवृत्तिले पृष्ठभूमिको काम गरेको देखिन्छ । तर सार्वजनिक वृत्तमा भने जेन–जी समूहलाई संयमित हुन आग्रह भइरहेको छ । खासमा सुध्रन पर्ने, संयमित हुनपर्ने एमाले हो कि जेनजी ?
सुदन गुरुङ नेतृत्वको जेन–जी समूहका बारा को–अर्डिनेटर सम्राट उपाध्याय ‘निवर्तमान हत्यारा सरकारविरुद्ध’ बुधबार बिहान गरिएको शान्तिपूर्ण प्रदर्शन आयोजना गरिएकाेमा एमाले कार्यकर्ताले गुण्डागर्दी शैलीमा कुटपिट गरेकाले उक्त घटना हुन पुगेको बताउँछन् ।
‘बुधबार बिहान हामीले निवर्तमान हत्यारा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका थियौं,’ उपाध्याय भन्छन्, ‘एमालेका गुण्डाहरूले हामीमाथि कुटपिट गरेपछि घटना हुुन पुुगेको हो । यसको जिम्मेवारी एमालेले लिनुपर्छ ।’
आफ्नो समूहमाथि कुटपिट गर्ने एमाले कार्यकर्तालाई बिहीबार बिहान १० बजेसम्म सरकारले कारबाही नगरे बारासहित सिंगो मधेस प्रदेशभरि प्रदर्शन गर्ने उनले चेतावनी दिएका छन् ।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले मनोबल खस्किएको प्रहरीलाई अघि सारेर फागुन २१ गते निर्वाचन गर्न सरकार केन्द्रित बनिरहेका सन्दर्भमा बुधबार भएको घटनाले सबैलाई झस्काइदिएको छ ।
मुठभेड र निर्वाचन विथोलिने चिन्ता
बुधबार बारामा घटेको जस्तै घटना आउँदा दिनमा अन्य स्थानमा पनि पुनरावृत्त हुँदै जाने हो भने राजनीतिक दलहरू जनतामाझ जानै नसक्ने अवस्था बन्नेछ । योभन्दा पनि अझै गम्भीर र सोचनीय विषय के छ भने जेन–जी समूहले यस्तै गतिविधि जारी राख्दा दल र उनीहरूबीच देशभर मुठभेडको अवस्था नआउला भन्न सकिन्न ।
आफूलाई जेन–जी अभियन्ता बताउने सुदन गुुरुङले बारम्बार यही अवस्थामा पुराना दललाई गाउँ जान नदिने चेतावनी दिँदै आइरहेका छन् । गत भदौ २३ गतेको जेनजी आन्दोलनका दमनकारीमाथि सरकारले कारबाही नगरेकोमा रुष्ट गुरुङले बिहीबार बिहान मात्रै सिमराका जनताले देखाएको जस्तो हिम्मत अब देशभरका जनताले देखाउन पर्ने बताएका छन् ।
निरन्तर भड्कावपूर्ण अभिव्यक्ति दिँदै आइरहेको नेकपा (एमाले) ले संयमतता अपनाउने छनक सुरुदेखि नै देखाएको छैन । जेन–जी विद्रोहलाई ललकार्दै संसद् पुनस्र्थापनाको मुद्दा बोकेर हिँडेको एमालेलाई अनेकन समस्या देखाएर निर्वाचन हुनबाट रोक्नुछ । त्यसैले पनि आगामी दिनमा एमालेबाट जिम्मेवार राजनीतिक दलको भूमिका निर्वाह हुने सम्भावना निकै कम देखिन्छ । जेन–जीहरू पुराना दलविरुद्ध मैदानमा उत्रने र दलहरूले पनि संयमता गुमाउने हो भने देशलाई सम्भावित मुठभेडबाट कसैले रोक्न सक्ने छैन ।
सुध्रन पर्ने एमाले कि जेन–जी ?
शान्ति सुरक्षालाई आगामी निर्वाचनको सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिराखिएका बेला बुधबारको सिमरा घटनाले जेन–जीहरू प्रश्नको घेरामा परेका छन् ।
निर्वाचनमा भाग नलिने घोषणा गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचार र सभा गर्न नपाइने वातावरण बनाएर कस्तो चुनाव गर्दै हुनुहुन्छ भनेर प्रधानमन्त्री सुशीला कार्कीलाई प्रश्न गरेका छन् । ‘प्रचारमा जान नपाइने, सभामा जान नपाइने, भेलामा जान नपाइने पनि हुन्छ ? म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, कस्तो चुनाव गराउँदै हुनुहुन्छ ?,’ उनले अगाडि थपेका छन्, ‘सभा गर्न खोज्यो गुण्डा लगाउनुहुन्छ । मान्छे कतै सहभागी हुन जान लाग्यो, एयरपोर्ट बन्द हुन्छ, कस्तो चुनाव गराउनुहुन्छ ?’
सुशासन, भ्रष्टाचारको अन्त्य, सामाजिक न्याय, राज्यका निकायको लोकतान्त्रिकरण जस्ता मुद्दा सुन्नै नचाहने ओलीको एउटै सार छ, सुध्रन पर्ने एमालेलगायतका पुराना दल होइन, जेनजी हो ।
सिमरा घटनापछि सामाजिक सञ्जालमा देखापरेकी प्रधानमन्त्री सुशीला कार्कीको निचोड पनि झण्डैझण्डै निवर्तमान प्रधानमन्त्रीकै जस्तै छ । सिमरा घटनाको सतही विश्लेषण गर्दै उनले त्यसलाई अराजकताको संज्ञा मात्र दिएकी छैनन्, यस्ता गतिविधि कायम रहे सरकारले नसहने चेतावनी पनि दिएकी छन् ।
‘बाराको सिमरामा आज देखिएको तनाव र हिंसा अत्यन्तै दुःखद् छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन । युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौं ।’
जेनजी विद्रोहलाई स्वीकार नगर्ने, त्यही विद्रोहको बलमा बनेको सरकारलाई हा… हा…, हु… हु…मा बनेको भनेर होच्याउने ओलीको शैलीले मुठभेडको अवस्था बनाउँदै लगिरहेको छ । बुधबारकै कुरा गर्दा शान्तिपूर्ण प्रदर्शन गरिरहेका जेन–जी समूहमाथि एमाले कार्यकर्ताले आक्रमण गरेका थिएनन् भने सिमराले बुधबार तनाव झेल्लनुपर्ने थिएन । तर प्रधानमन्त्रीको दोषी चश्माले बुधबारकाे घटनामा एमालेको कमजोरी कतै देखेकी छैनन् ।
बुुधबारको घटनापछि अरू धेरैले जेन–जीमाथि मात्र प्रश्न उठाएको देखिन्छ । बुधबारको घटना निम्तिनुको पछाडि के जेन–जी मात्र दोषी हुन् ? यसमा जेन–जी विद्रोह अस्वीकार गर्ने, यसको भावनाको मानमर्दन गर्ने, तिनले उठाएको मुद्दामा गम्भीरता प्रदर्शन नगरेर अपमान गर्ने एमाले नेतृत्व र यसको नेताको कमजोरी छैन ?
जेन–जी विद्रोहको परकम्पपछि ध्रुवीकरण भएर बनेको नेपाली कम्युनिस्ट पार्टीका नेता गोपाल किराँती एमाले मूल नेतृत्व प्रवृत्तिकै कारण भदौ २३ र २४ देखापरेको र सिमराको घटना पनि उसकै कारण हुन पुुगेको टिप्पणी गर्छन् ।
‘एमालेको मूल नेतृत्व प्रवृत्तिकै कारण भदौ २३/२४ भएको हो र आज सिमरामा जे भयो, एमालेकै कारणले भयो,’ उनले बुधबार फेसबुकमा लेखेका छन् ।
देशमा अब जे जस्ता खराबी आइलाग्ने छन्, त्यसमा पनि एमाले पंक्ति नै जिम्मेवार हुनुपर्ने उनी बताउँछन् ।
‘देशमा अब जे जस्ता खराबी आइलाग्ने छन्, त्यसको जिम्मेवार एमालेपंक्ति नै हुनुपर्छ । कुनै समयको मण्डले र अहिलेको एमाले दुरुस्तै उस्ताउस्तै ।’
राजनीतिक विश्लेषक कृष्ण पोखरेल एमालेले जानीबुुझी नै जेन–जीसँग भिड्ने अवस्था सिर्जना गरेको बताउँछन् । ट्रयाकमा आउन लागेको राजनीतिलाई भाँड्न ओलीले पार्टीलाई गलत दिशातर्फ हिँडाएको टिप्पणी पनि उनले गरे ।
‘आन्दोलनपछाडि आक्रोशको केन्द्रबिन्दु केपी ओली नै हुन् । अहिले उनै जेनजीलाई गाली गर्दैछन् । र, चुनावमा भाग लिन्नँ भनिरहेका छन्,’ पोखरेलले नयाँ पत्रिकासँग भनेका छन्, ‘उनमा कताकता ध्वंसात्मक उन्माद आएको भान हुन्छ । जानीबुुझी नै जेनजीसँग भिड्ने अवस्था सिर्जना गरेजस्तो लाग्छ ।’
जेन–जी अगुवा रक्षा बम जेन–जीले नभई जेनजी आन्दोलनलाई नै अवमूल्यन गर्दै नागरिक सरकारलाई गिज्याउने, चुनाव हुँदैन भन्ने, नागरिक सरकारको आयोगहरूलाई हेप्ने, चुनौती दिने र जेनजी युवाहरूलाई धम्क्याउँदै हातपात गर्ने एमालेका कारण देशमा समस्याहरू सिर्जना भएको बताउँछिन् ।
हुन पनि, एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतले निरन्तर भड्कावपूर्ण अभिव्यक्ति दिँदै आइराखेका छन् । भदौ २३ गतेको घटनामा किञ्चित आत्मालोचना नगरेका ओलीले अहिलेसम्म त्यसलाई स्वीकार गर्न सकेका छैनन् । बरु त्यसलाई विभिन्न छुद्र शब्दको साहरामा होच्याउने, अपमान गर्ने काम गरिरहेका छन् । नेता महेश बस्नेतले त खुलेआम रूपमा विरोधीहरूलाई कुट्ने, मार्ने, काट्ने जस्ता धम्की दिँदै आइरहेका छन् ।
जेनजी अभियन्ता बम एमालेलगायत दलले अरूमाथि दोष थोपर्न छाडेर सच्चिनु पर्ने बताउँछिन् । त्यसका लागि पुराना दलले सबैभन्दा पहिले नेतृत्व परिवर्तन गरेर नागरिककेन्द्रित हुनुपर्ने उनको सुुझाव छ । ‘एमालेलगायत सम्पूर्ण राजनीतिक दलहरूलाई विनम्रतापूर्वक अनुरोध छ, कृपया सच्चिनुस । आफ्नो दलको असफल र अक्षम नेतृत्व परिवर्तन गर्दै, आफ्नो राजनीति नागरिक केन्द्रित बनाउनुहोस् । स्वार्थी समूह र भ्रष्टाचारको पक्षपोषण गर्नेहरूको लागि होइन, आम नेपाली जनताको हितका लागि काम गर्न थाल्नुहोस् ।’
देशमा भलो नचाहने तत्त्वले जेन–जीलाई आवेगमा ल्याउन चाहेकाले संयमता अपनाउन उनले आग्रह गरेकी छन् । जस्तो प्रवृत्तिविरुद्ध लडिराखेको छ, आफू पनि त्यस्तै बन्न नहुने उनको भनाइ छ ।
‘अहिले संयमता अपनाउनुपर्ने समय हो । देशको भलो नचाहने तत्त्वहरू हामीसँग मुठभेड गर्न, अत्याउन, हौस्याउन र आवेगमा ल्याउन चाहन्छन् । तर हामीले त्यसो गर्न हुँदैन । हामी जो र जस्तो प्रवृत्तिसँग लड्दै छौं, हामी त्यस्तै बन्न हुँदैन । अहिलेको समयमा संयमता र धैर्यता नै हाम्रो शक्ति हो,’ बमले सामाजिक सञ्जालमा जेन–जी वर्गलाई सम्बोधन गर्दै भनेकी छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया