काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ दिनभित्र निर्वाचन प्रक्रिया सम्पन्न गर्न कडा निर्देशन दिएको छ।
फिफाले पठाएको पत्रमा, पत्र प्राप्त भएको सात दिनभित्र एन्फाले आफ्नो निर्वाचन प्रक्रिया पुनः सुरु गरी टुंगोमा पुर्याउनुपर्ने उल्लेख गरिएको छ। तोकिएको समयसीमाभित्र प्रक्रिया अघि नबढेमा एन्फामाथि निलम्बनको प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ।
पत्रमा स्पष्ट भनिएको छ कि यदि (राखेप) ले एन्फामाथिको निलम्बन फिर्ता नगरेमा, वा उक्त निर्णय प्रभावहीन भएको सुनिश्चित नगरेमा, फिफा काउन्सिलमा एन्फालाई तत्काल निलम्बनका लागि सिफारिस गरिनेछ।
यसअघि एन्फाले १३ चैतमा चुनाव गर्ने तयारी गरेपछि राखेपले ११ चैतमा एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो। राखेपले निलम्बनसँगै एन्फालाई ११ बुँदे निर्देशन समेत दिएको थियो, जसलाई तीन महिनाभित्र कार्यान्वयन गर्न भनिएको थियो।
विवादको मुख्य कारण भने निर्वाचन प्रक्रिया नै बनेको छ। एन्फा नेतृत्वले चार वर्षअघिकै जिल्ला प्रतिनिधिलाई मताधिकार दिने तयारी गरेको थियो, जसले नेतृत्वलाई पुनः निरन्तरता दिने रणनीति भएको आरोप लागेको छ।
तर सरोकारवाला पक्ष र राखेपले भने पहिले जिल्ला स्तरको निर्वाचन सम्पन्न गरी नयाँ प्रतिनिधि चयन गरेपछि मात्रै केन्द्रीय चुनाव हुनुपर्ने अडान लिँदै आएका छन्।
प्रतिक्रिया