NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २० गते

आजदेखि काभा महिला भलिबल च्याम्पियनसिप

काठमाडौँ- काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि काठमाडौँमा सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा आयोजना हुने प्रतियोगितामा नेपालसहित मध्य एसियाका आठ टोली सहभागी छन्।

प्रतियोगिताको पहिलो दिन उद्घाटन समारोहसहित तीन खेल हुनेछन्। घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमा छिमेकी भारतसँग प्रतिस्पर्धा गर्नेछ।

दिनको पहिलो खेलमा समूह ‘बी’ का इरान र बंगलादेश बिहान ११ बजे आमनेसामने हुनेछन्। नेपाल भलिबल संघका अनुसार दिउँसो २ बजे उद्घाटन समारोह आयोजना गरिनेछ। त्यसपछि दिउँसो ३:३० बजे समूह ‘ए’ अन्तर्गत नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ।

दिनको तेस्रो खेलमा समूह ‘ए’ कै किर्गिस्तान र माल्दिभ्स साँझ ६ बजे भिड्नेछन्। प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स रहेका छन् भने समूह ‘बी’ मा इरान, काजाखस्तान, श्रीलंका र बंगलादेश सहभागी छन्।

सुरुवाती चार दिन समूह चरणका खेल सञ्चालन हुनेछन्। प्रत्येक दिन तीन-तीन खेल खेलाइनेछ। समूह चरणपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोलीले स्थान निर्धारण (क्लासिफिकेसन) खेल खेल्नेछन्।

पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता तथा दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता आमनेसामने हुनेछन्। सेमिफाइनल विजेता टोलीले जेठ १५ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

यसअघि समूह ‘ए’ को तेस्रो र समूह ‘बी’ को चौथो तथा समूह ‘बी’ को तेस्रो र समूह ‘ए’ को चौथो टोलीबीच पनि खेल हुनेछ। ती खेलका विजेता र पराजित टोलीबीच थप स्थान निर्धारण खेल आयोजना गरिनेछ।

समूह चरणदेखि फाइनलसम्म प्रतियोगितामा कुल २० खेल हुनेछन्। प्रतियोगिताको विजेता टोलीले एसिया कपका लागि छनोट हुने अवसर प्राप्त गर्ने नेपाल भलिबल संघले जनाएको छ।

हालका वर्षहरूमा नेपालले काभाअन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक आयोजना गर्दै मध्य एसियामा भलिबलको केन्द्रका रूपमा आफ्नो पहिचान बलियो बनाउँदै गएको छ।

यसैबीच, आज ‘नेसनल भलिबल डे’ पनि मनाइँदै छ। नेपाल सरकारले २०७४ सालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपछि नेपाल भलिबल संघले हरेक वर्ष जेठ ८ गते राष्ट्रिय भलिबल दिवस मनाउँदै आएको छ।

ताजा अपडेट

नेपालवाच विशेष