NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २७ गते

पर्यटन आम्दानीमा सामान्य गिरावट, सेवा खातामा ६८ अर्बभन्दा बढी घाटा

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो १० महिनामा पर्यटन क्षेत्रबाट प्राप्त हुने आम्दानीमा सामान्य कमी आएको छ भने सेवा क्षेत्रको समग्र सन्तुलन घाटामा रहेको देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार वैशाख मसान्तसम्म खुद सेवा आय ६८ अर्ब २२ करोड रुपैयाँले ऋणात्मक रहेको छ।

तथ्यांकअनुसार समीक्षा अवधिमा भ्रमण क्षेत्रबाट मुलुकले ७४ अर्ब १८ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ७५ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो। यस आधारमा पर्यटन आम्दानीमा २।२ प्रतिशतले कमी आएको देखिन्छ।

 

यता, भ्रमणसँग सम्बन्धित खर्च भने १ खर्ब ७७ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको समान अवधिमा यस्तो व्यय १ खर्ब ८४ अर्ब २२ करोड रुपैयाँ थियो, जसअनुसार भ्रमण व्ययमा ३।४ प्रतिशतले कमी आएको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।

भ्रमण क्षेत्रबाट हुने आम्दानीको तुलनामा व्ययको आकार उल्लेख्य रूपमा ठूलो रहेकाले सेवा खातामा घाटा देखिएको हो।

सेवा खाताअन्तर्गत विदेश अध्ययनसँग सम्बन्धित खर्च उच्च रहेको तथ्यांकले देखाएको छ। समीक्षा अवधिमा शिक्षातर्फको व्यय १ खर्ब २० अर्ब ५० करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च १ खर्ब १२ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो।

राष्ट्र बैंकको विवरणले पर्यटन आम्दानीमा सामान्य संकुचन र सेवा क्षेत्रअन्तर्गत विशेष गरी शिक्षासम्बन्धी बाह्य व्यय उच्च रहँदा सेवा खाताको समग्र अवस्था घाटामा रहेको संकेत गरेको छ।

ताजा अपडेट

नेपालवाच विशेष