NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३० गते

पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष पाँच वटा अभौतिक सांस्कृतिक सम्पदालाई राष्ट्रिय सूचीकरण गरेको छ।

माझी समुदायले अभ्यास गर्ने लदी पूजा, मगर समुदायले मनाउने भूमे पर्व, मध्यपुर थिमी नगरपालिका वडा नं. ८ बोडेका श्रेष्ठ, ज्यापु, नकर्मीलगायत नेवाः समुदायले मनाउने जिब्रो छेड्ने जात्रा, सोही स्थानका नेवाः समुदायले मनाउने श्री नीलबाराही गण नाचलाई राष्ट्रिय सूचीकरण गरिएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए।

यसैगरी माडी गाउँपालिका वडा नं. ६ रोल्पाका मगर समुदायले मनाउने नचारु स्याइँ नाचलाई पनि राष्ट्रिय सूचीकरण गरेको पनि उनले बताए । विभिन्न समुदायको पहिचान एवं अभिलेखीकरणमार्फत् अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण सम्बन्धित समुदायबाटै गर्ने कार्यलाई निरन्तरता दिन राष्ट्रिय सूचीकरण थालनी गरेको हो।

अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२ मा भएको प्रावधान बमोजिम चालु आर्थिक वर्षमा मन्त्रीस्तरीय निर्णयबाट यी पाँच अभौतिक सांस्कृतिक सम्पदा राष्ट्रिय सूचीकरणमा परेको मन्त्रालयले जनाएको छ।

यी सम्पदा राष्ट्रिय सूचीकरण गर्न लागिपर्ने व्यक्ति वा संस्थालाई अभौतिक सांस्कृतिक सम्पदा दिवस आगामी असार १ गते सम्मान गर्ने कार्यक्रम तय भएको मन्त्रालयका पुरातत्व अधिकृत भीष्म बास्कोटाले जानकारी दिए।

 

ताजा अपडेट

नेपालवाच विशेष