सिक्टा सिँचाइ आयोजनाले बाह्रै महिना पानी दिन थालेपछि किसान उत्साहित
काठमाडौं । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि यहाँका किसान खुसी हुन थालेका छन् । राप्तीसोनारी गाउँपालिका-२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाले मर्मत सम्भारको समयावधिबाहेक किसानको मागअनुसार बाह्रै महिना नहरमा नियमित पानी छोड्ने गरेको छ ।
किसानको मागअनुसार सिँचाइको अभाव हुन नदिन नहरमा बाह्रै महिना नियमित पानी छोड्दै आएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहले जानकारी दिए।
‘हामीले किसानको आवश्यकतालाई सर्वोपरि ठानेर मर्मत सम्भारको समयबाहेक उहाँहरूको मागअनुसार बाह्रै महिना नहरमा पानी उपलब्ध गराउँदै आएका छौँ,’ उनले भने, ‘यसले गर्दा किसानले समयमै धान, गहुँ मात्र होइन, व्यावसायिक रूपमा बेमौसमी तरकारी खेती गरेर आर्थिक लाभ लिन थाल्नुभएको छ ।’
उनका अनुसार, राप्तीसोनारी गाउँपालिका-२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएको आयोजनाले हालसम्म २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष रुपमा नियमित सिँचाइ सुविधा पुर्याएको छ ।
विगतमा आकासे पानीको भरमा धानखेती गर्दै आएका राप्तीसोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका किसानले सिँचाइको नियमित सुविधा पुगेपछि अहिले समयमै धानको बीउ राख्न पाएका छन् ।
हालसम्म पर्याप्त वर्षा नभए पनि सिक्टाको सिँचाइ पुगेको क्षेत्रमा किसानहरूले धानको बीउ हुर्काइसकेको राप्तीसोनारी गाउँपालिका-७ का वडाध्यक्ष राम लखन थारूले बताए । उनले राप्तीसोनारीको वडा नंं ६ र ७ फत्तेपुर क्षेत्रका किसानले समयमै धानको बीउ राखिसकेको उल्लेख गर्दै सिक्टा सिँचाइ आयोजना किसानको लागि वरदान सावित भएको बताए ।
सिँचाइको नियमित सुविधा पुगेको २४ हजार हेक्टर जमिनमा किसानले समयमै धानको बीउ राख्न पाएका छन् । बाँकेमा सिक्टाको सिँचाइ सुविधा नपुगेको क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर पनि बीउको ब्याड राखिएको छ ।
जिल्लामा सिँचाइको सुविधा पुगेको र वैकल्पिक उपाय गरेर हालसम्म करिब ४५ प्रतिशत किसानले मात्रै धानको बीउ ब्याड राखेको कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले जानकारी दिइन् । बाँकेमा ३३ हजार ७८० हेक्टर क्षेत्रफल जमिनमा वर्षे धानखेती हुने गरेको छ ।
ताजा अपडेट
-
सिक्टा सिँचाइ आयोजनाले बाह्रै महिना पानी दिन थालेपछि किसान उत्साहित
-
पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो बढ्ने
-
धौलागिरिका घुम्ती गोठ सङ्कटमा
-
विश्वकप फुटबलः सुरुवाती अग्रता जोगाउन नसक्दा कंगोसँग रोकियो पोर्चुगल
-
विश्वकप फुटबलः रोमाञ्चक खेलमा क्रोएसियामाथि इंग्ल्याण्डको सानदार जित


प्रतिक्रिया