NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार ४ गते

४५ वर्षयताकै उच्च प्रि–मनसुन वर्षा, नेपालमा नयाँ रेकर्ड

काठमाडौं । नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा विगत ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा रेकर्ड भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर औसत ३३९.७७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन दीर्घकालीन औसत २२६.३ मिलिमिटरको १४५.५ प्रतिशत हो।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको सक्रियता, स्थानीय वायुको प्रभाव तथा अत्यधिक गर्मीका कारण यस वर्ष प्रि–मनसुन अवधिमा असामान्य रूपमा धेरै वर्षा भएको हो।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ मा भएको ३३९.७७ मिलिमिटर वर्षा प्रि–मनसुन अवधिको हालसम्मकै उच्च रेकर्ड बनेको छ। यसअघि सन् १९९० मा ३३१.४० मिलिमिटर वर्षा भई उच्च रेकर्ड कायम भएको थियो। त्यसपछि सन् २००० मा ३२३.१९ मिलिमिटर, सन् २०२१ मा ३१७.८८ मिलिमिटर तथा सन् २०२० मा ३१५.७८ मिलिमिटर वर्षा मापन गरिएको थियो।

विभागका अनुसार यस वर्षको वर्षाले अघिल्ला सबै रेकर्डलाई उछिनेको छ। प्रि–मनसुन अवधिमा औसतभन्दा उल्लेख्य बढी वर्षा हुनु जलवायु प्रणालीमा परिवर्तन देखिनुको संकेत हुन सक्ने विभागको भनाइ छ।

यस अवधिमा देशका विभिन्न क्षेत्रमा चट्याङ, हावाहुरी, असिना तथा भारी वर्षाका घटनासमेत बढेको विभागले जनाएको छ। विभागका अनुसार यस वर्षको प्रि–मनसुन वर्षा उपलब्ध अभिलेखमा हालसम्मकै उच्च वर्षाका रूपमा दर्ता भएको छ।

ताजा अपडेट

नेपालवाच विशेष