NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १५ गते

सिमकोट विमानस्थल विस्तारका लागि विनियोजित बजेट फिर्ता हुने

हुम्ला – सिमकोट विमानस्थल विस्तारका लागि विनियोजित बजेट फिर्ता हुने भएको छ। यसका लागि चालु आर्थिक वर्षमा विनियोजित बजेट फिर्ता जाने निश्चित भएपछि सो काम अगाडि नबढ्ने भएको हो।

विमानस्थल विस्तारका लागि विनियोजित वजेट फिर्ता जाने थाहा पाएपछि सिमकोट गाउँपालिका– ५ का स्थानीय बसन्त रोकायाले बल्लबल्ल ब्यवस्था भएको बजेट फिर्ता गएर पहिलेकै अवस्थामा विमानस्थल रहने बताए।

पर्यटक आवागमन बढ्न थालेपछि हालको विमानस्थल सानो भएको र त्यसलाई विस्तार गरेर बढी सिटे जहाज अवतरण गराउन विमानस्थल विस्तार गर्नुपर्ने अवस्थामा भएको वजेट पनि फिर्ता जान थालेकोमा उनले दुःख ब्यक्त गरे।

विनियोजित बजेटमा नेपाल सरकारले लागत साझेदारी गर्नुपर्ने बजेटको ब्यवस्था गरेर पनि निकासा अर्थ मन्त्रालयले नदिएका कारण सिमकोट विमानस्थल विस्तार तथा निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले ब्यवस्था गरेको बजेट फिर्ता जाने निश्चित भएको सिमकोट विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहले बताए।

उनका अनुसार अब विमानस्थल विस्तारका लागि जग्गा अधिकरण गर्ने र विस्तार भएको जग्गामा विमानस्थलका संरचना निर्माण हुन सक्दैन।

चालु आवमा उक्त कार्यका लागि प्राधिकरणले २० करोड बजेटको ब्यवस्था गरेको थियो। सरकारले सात करोड ९४ लाख रुपैयाँ चालु आर्थिक वर्षको वजेटमा व्यवस्था गरे पनि अर्थ मन्त्रालयबाट सो रकम निकासा नआएका कारण सबै तयारी भएर पनि काम अगाडि बढ्न नसकेको उनले बताए।

विमानस्थल विस्तारका लागि ६० रोपनी जग्गा अधिकरण गर्न कार्यालयले सबै तयारी गरेर सूचना निकाल्न मात्र बाँकी थियो।

यसबीच अर्थ मन्त्रालयमा प्राधिकरणमार्फत पटक–पटक पत्राचार गरिएको थियो। तर, अर्थ मन्त्रालयले उक्त काम अगाडि बढाउन उपयुक्त नठानेकाले विनियोजन गरिएको बजेट फिर्ता जान लागेको हो।

ताजा अपडेट

नेपालवाच विशेष