फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो
काठमाडौँ -बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। अतिरिक्त समयमको अन्तिम मिनेटमा कप्तान युरी थिलेमन्सले पेनाल्टीमा गोल गरेपछि सेनेगलविरुद्ध जित निकाल्दै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको हो।
अमेरिकाको सिएटल स्टेडियममा भएको खेलमा दुई गोलले पछि परेको बेल्जियमले सेनेगललाई ३-२ ले पराजित गरेको हो। कप्तान युरी थिलेमन्सले १२५औं मिनेटमा गरेको गोल विश्वकपमा अहिलेसम्म भएको मध्ये सबैभन्दा ढिलो गोल हो।
८५ मिनेटसम्म २-० को अग्रतासहित जित नजिक पुगेको सेनेगललाई रोमेलु लुकाकुको गोलले रोकेको थियो।
निर्धारित समयको ५ मिनेटअघिसम्म बेल्जियम दुई गोलले पछि थियो। तर लुकाकु र कप्तान थिलेमन्सले निर्धारित समयमै गोल गरेपछि बेल्जियमले खेल २-२ को बराबरीमा पुर्याउँदै खेल अतिरिक्त समयसम्म लम्ब्याएको थियो। अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिरहेको थियो। तर अतिरिक्त समयमको अन्तिम मिनेटमा बेल्जियमले पेनाल्टी पायो।
सेनेगलका लामिन क्यामाराले विपक्षी खेलाडीलाई डिबक्सभित्र लडाएपछि भिएआरको सहयोगमा बेल्जियमले पेनाल्टी पाएको थियो। जसमा कप्लेतान थिलेमन्सले गोल गर्दै बेल्जियमलाई ३–२ जित दिलाए।
त्यसअघि खेलको २४औं मिनेटमा हबीब डायरा र ५१औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई २-० को अग्रता दिलाएका थिए।
खेलको ८६ औं मिनेटमा बेल्जियमका रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। त्यसको ३ मिनेटपछि युरी टिलेमान्सले गोल गर्दे बेल्जियमलाई बराबरीमा फर्काउन सफल भए।


प्रतिक्रिया