म्यानपावरबाटै सीपयुक्त श्रमिकलाई दक्षिण कोरिया पठाउने बाटो खुला
काठमाडौँ । म्यानपावरबाट नै दक्षिण कोरियाको श्रम बजारमा ई–७ भिसामा रोजगारीको अवसर पर्खिरहेका नेपाली श्रमिकका लागि युवा, श्रम तथा रोजगार मन्त्रालयले महत्त्वपूर्ण निर्णय गरेको छ ।
मन्त्रालयले सीपयुक्त श्रमिकलाई दक्षिण कोरिया पठाउने प्रक्रिया विधिसम्मत ढङ्गले अगाडि बढाउन परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्राचार गरेको हो ।
परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशन र सोही वर्षको जेठ १९ गतेको पत्रको सन्दर्भमा यो निर्णय लिइएको हो । कोरियाली दूतावासबाट प्राप्त कूटनीतिक नोट तथा उच्च अदालत पाटनबाट रिटमा जारी भएका आदेशलाई मुख्य आधार मान्दै मन्त्रालयले यस्तो कदम चालेको हो ।
अबदेखि सीपयुक्त श्रमिकलाई ई–७ भिसामा दक्षिण कोरियाको रोजगारीका लागि पठाउने प्रयोजनका लागि वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुनको पूर्ण पालना गर्नुपर्नेछ । यसका लागि गन्तव्य मुलुकस्थित नेपाली कूटनीतिक नियोगबाट मागपत्र प्रमाणीकरण गराई सम्पूर्ण कार्यसम्पादन प्रक्रिया अगाडि बढाउन मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ ।
मन्त्रालयले मन्त्रीस्तरबाट असार १५ गते भएको निर्णयका आधारमा यो पत्राचार गरेको हो ।
मन्त्रालयले वैदेशिक रोजगार विभाग, ताहाचललाई आवश्यक प्रबन्ध मिलाउन तथा व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिएको छ । सियोलस्थित नेपाली राजदूतावासलाई समेत बोधार्थ दिइएको छ । लामो समयदेखि कानुनी र प्रक्रियागत अस्पष्टताका कारण रोकिएका सीपयुक्त श्रमिकका लागि मन्त्रालयको यो निर्णयले रोजगारीको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
छ महिनामै ६ लाख २० हजार विदेशी पर्यटक नेपालमा, आगमन ७.४ प्रतिशतले बढ्यो
-
नयाँ प्रणाली लागू हुँदै, राहदानी सेवा केही दिन बन्द हुने
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
कर्णाली नदीमा बेपत्ता गाडी खोजीका लागि सशस्त्रको सोनार क्यामरा र म्याग्नेटसहितको टोली परिचालन


प्रतिक्रिया