NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार २२ गते

यो विश्वकप मेरो अन्तिम हो तर आशा गर्छु भोलिको खेल अन्तिम हुने छैन : रोनाल्डो

काठमाडौँ । विश्व फुटबलका महान् खेलाडी तथा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले जारी सन् २०२६ को फिफा विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने आधिकारिक रूपमा पुष्टि गरेका छन् ।

स्पेनविरुद्धको अन्तिम १६ को महत्त्वपूर्ण खेलअगाडि डलासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ४१ वर्षीय भेट्रान स्ट्राइकर रोनाल्डोले यो आफ्नो छैटौँ तथा अन्तिम विश्वकप सहभागिता हुने घोषणा गरेका हुन् ।

यो घोषणासँगै विश्व फुटबल इतिहासकै सबैभन्दा लामो र सफल अन्तर्राष्ट्रिय यात्राको एउटा स्वर्णिम अध्याय अन्त्यतर्फ लागेको छ ।

स्पेनविरुद्धको खेलको पूर्वसन्ध्यामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रोनाल्डोले यो क्षण भावुक नभई आफ्नो लागि एउटा गर्वको विषय भएको बताएका छन् । उनले भनेका छन्, “म यो विश्वकपलाई पूर्ण रूपमा उपभोग गर्न चाहन्छु, किनकि यो मेरो अन्तिम विश्वकप हुनेछ । तर, म आशा गर्दछु कि भोलिको खेल नै मेरो विश्वकपको अन्तिम खेल हुने छैन ।”

उनले थपे, “भोलि मैदानमा जेसुकै परिणाम आए पनि म पूर्ण रूपमा सन्तुष्ट र सफा विवेकका साथ मैदानबाट बाहिरिनेछु । मैले फुटबलका लागि आफ्नो शतप्रतिशत होइन, हजार प्रतिशत दिएको छु । म अहिले पनि फुटबललाई उत्तिकै माया गर्छु र यो केवल मेरो खेलप्रतिको तीव्र लगाव हो ।”

सन् २००३ मा १८ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोनाल्डोले पोर्चुगललाई सन् २०१६ को युरो कप र २०१९ को नेसन्स लिगको उपाधि दिलाएका थिए । अन्तर्राष्ट्रिय फुटबल इतिहासमै सर्वाधिक गोल गर्ने विश्व कीर्तिमान (१४६ गोल) बनाइसकेका रोनाल्डोले जारी विश्वकपमा उज्बेकिस्तान र क्रोएसियाविरुद्ध गरी कुल ३ गोल गरिसकेका छन् ।

उमेर ढल्किँदै गए पनि आफूले समय र उमेरअनुसार खेलमा परिवर्तन ल्याएको र अझै पनि गोल गर्न सक्ने क्षमता आफूमा बाँकी रहेको उनले बताए । विश्वकपको उपाधि जित्नु वा नजित्नुले आफ्नो खेल जीवनको मूल्याङ्कन नगर्ने स्पष्ट पार्दै उनले भगवानले आफूलाई सोचेभन्दा बढी दिएकोमा कृतज्ञता व्यक्त गरे । पोर्चुगल र स्पेनबीचको यो बहुप्रतीक्षित नकआउट खेल सोमबार डलासमा हुँदैछ, जहाँ पोर्चुगल लगातार दोस्रोपटक क्वार्टरफाइनलमा पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

 

ताजा अपडेट

नेपालवाच विशेष