उखु किसानलाई राहत, पौने दुई अर्ब रुपैयाँ भुक्तानी
होत्तरी । दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब दुई अर्ब रुपैयाँ रकम किसानले भुक्तानी पाएका छन् ।
गौशाला नगरपालिका–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज र गौशाला–१२ स्थित सिद्धिविनायक सुगर एण्ड केमिकल इन्डष्ट्रिजमा बुझाइएको उखुको रकमबापत एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४ सय ५५ रुपैयाँ किसानले भुक्तानी पाएका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।
दुवै उद्योगमा गरेर किसानले २८ लाख ६७ हजार ९ सय ८६ क्विन्टल ९६ किलो उखु आर्थिक वर्ष २०८२–८३ मा बुझाइएको अभिलेखले देखाएको छ । उखुको मूल्यबापत हुने एक अर्ब ७७ करोड ३४ लाख ३७ हजार २ सय ३२ रुपैयाँमध्ये एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४ सय ५५ रुपैयाँ भुक्तानी भइसकेको कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिए ।
यसैगरी, सरकारले उखु किसानलाई दिने अनुदानबापतको रकम भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय महोत्तरीलाई सिफारिस गरिएको छ । जिल्ला भुक्तानी समितिले अहिले २० करोड सात लाख ५९ हजार १ सय १७ रुपैयाँ अनुदान भुक्तानीका लागि सिफारिस गरेको यादवले स्पष्ट पारे ।
जिल्लामा भुक्तानी सिफारिसका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भुक्तानी समितिको व्यवस्था छ । यसपालिको उखुबापतको मूल्य र अनुदान सबै भुक्तानी यसै असार मसान्तभित्र भइसक्ने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।


प्रतिक्रिया