NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार २८ गते

भारतबाट कामदार पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा

काठमाडौँ । वैदेशिक रोजगार विभागले विभागको स्वीकृतिबिनै भारतीय विमानस्थल प्रयोग गरी कामदारलाई वैदेशिक रोजगारीमा पठाउने १५९ वटा इजाजतप्राप्त म्यानपावर कम्पनीमाथि कारबाही गरेको छ ।

विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ मा रहेको स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था कार्यान्वयन भए÷नभएको अध्ययन गर्न २०८२ चैत १ देखि २०८३ जेठ ३१ सम्म श्रम स्वीकृति लिएर विदेश गएका कामदारको उडान विवरण मागिएको थियो ।

सञ्चालनमा रहेका १,११७ इजाजतप्राप्त संस्थामध्ये ६७८ वटाले मात्र विवरण उपलब्ध गराएका थिए। तीमध्ये १५९ वटा संस्थाले विभागको पूर्वस्वीकृतिबिनै भारतीय विमानस्थल प्रयोग गरी कामदारलाई विदेश पठाएको पाइएको विभागले जनाएको छ। साथै, ४३९ वटा संस्थाले विभागले मागेको विवरण नै पेश नगरेको उल्लेख गरिएको छ।

विभागको असार २६ गतेको निर्णयअनुसार स्वीकृतिबिनै भारतबाट कामदार उडान गराई ऐनको दफा २२ उल्लंघन गर्ने आरम्भ एचआर सर्भिसेस प्रालि. सहित १५६ वटा म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार ऐनको दफा ५४ बमोजिम पहिलोपटक सचेत गराउने कारबाही गरिएको विभागले जनाएको छ।

विभागले सम्बन्धित सबै इजाजतप्राप्त संस्थालाई कानुनी व्यवस्था पूर्ण रूपमा पालना गर्न तथा विभागले मागेका विवरण समयमै उपलब्ध गराउन निर्देशन दिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष