रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द
रसुवा । ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको छ ।
रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि विद्युत् उत्पादन रोकिएको हो । खोलाको अवस्था सामान्य रहेमा सोमबारबाट पुनः विद्युत् उत्पादन सुरु गरिने उनले जानकारी दिए ।
गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको थियो । त्यसपछि मर्मत तथा पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको आयोजनालाई पुनः क्षति पुग्न सक्ने आशङ्कामा सुरुङतर्फ पानी लैजाने गेट बन्द गरिएको प्राविधिकहरूले बताएका छन् ।
रसुवागढी हाइड्रोपावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाका अनुसार खोलाको बहाव निरन्तर अनुगमन भइरहेको छ । अवस्था सुरक्षित देखिएमा आजैदेखि विद्युत् उत्पादन पुनः सञ्चालनमा ल्याइने उनले बताए ।
भोटेकोसी नदीमा पनि पानीको बहाव बढ्न थालेपछि रसुवागढी भन्सार यार्डमा रहेका मालवाहक सवारीसाधन तथा नयाँ आयातित सवारी तत्काल सुरक्षित स्थानमा सारिएको त्यहाँस्थित सुरक्षाकर्मीले जनाएका छन् । भन्सार यार्डको उत्तरी भागबाट बाढी पस्न सक्ने जोखिम रहेकाले यार्डको थप सुरक्षा र तटबन्ध निर्माण गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति (प्रालि)सँग चालकहरूले माग गरेका छन् ।
गोसाईंकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामी छिरिङ तामाङले ल्हेन्दे खोला र भोटेकोसी नदी आसपास नजान तथा सवारीसाधन नदी किनारमा नराख्न स्थानीयवासीलाई आग्रह गरेका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार आइतबार साँझ आएको हल्का बाढीले मैलुङ सडकबाहेक अन्य स्थानमा उल्लेखनीय क्षति पुर्याएको छैन ।
मैलुङ सडक खण्ड जोखिममा परेकाले केरुङ आवतजावत गर्ने सवारीसाधनलाई बेत्रावती–कालिका स्थान–धुन्चे–स्याफ्रुबेँसी हुँदै रसुवागढी पुग्ने साविकको सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले यात्रु तथा चालकलाई जोखिमयुक्त सडक प्रयोग नगर्न अनुरोध गरेका छन् ।
लगातारको वर्षाका कारण नदी तथा खोल्सामा पानीको बहाव बढिरहेकाले नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा नबस्न र यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ । कतै पनि विपद्को अवस्था देखिएमा आपत्कालीन नि:शुल्क नम्बर १२३४ मा तत्काल जानकारी गराई उद्धार तथा राहत कार्यमा सहयोग गर्न प्रमुख जिल्ला अधिकारी परियारले सर्वसाधारणसँग अनुरोध गरेका छन् ।
ताजा अपडेट
-
बदलिँदो मौसमले फेरिएको किसानको ‘क्यालेन्डर’
-
अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने
-
बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा ’होल्ड’
-
मोदी खोलाको बाढीले सडक बगाउँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र
-
राहदानी विभागले सुरु गर्यो नयाँ प्रणाली


प्रतिक्रिया