NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार २९ गते

मोदी खोलाको बाढीले सडक बगाउँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ र १० को सीमा स्याउलीबजार नजिक मोदी खोलाले सडक बगाएपछि अहिले नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकमा यातायात बन्द भएको छ ।

अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला थुनिपछि आएको बाढीका कारण उर्लिएको मोदी खोलाले सडक बगाउँदा ग्रामीण पर्यटको केन्द्र घान्द्रुकसँगको सडक सम्पर्क टुटेको थियो ।

सडक बन्द हुँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् । पैदल यात्राका लागि समस्या नभए पनि सवारीसाधनमा गएका पर्यटक घान्द्रुकमै रोकिएका हुन् ।

घान्द्रुक पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष कृष्ण गुरुङले तीन दिन बिदा मनाउने सिलसिलामा घान्द्रुक पुगेका ३०० जना पर्यटक अहिले सडक बगाएपछि त्यहाँ रोकिनु परेको जानकारी दिए ।

“खोलाले सडक बगाएकाले अहिले गाडी चलेको छैन । अधिकांश पर्यटक आफ्नै साधन लिएर आएकाले अहिले बाटो खुल्ने प्रतीक्षामा बसिरहनुभएको छ । साना साधनका लागि वैकल्पिक सडकको खोजी गरिरहेका छौँ,” गुरुङले भने ।

मोटरसाइकल र स्कुटरमा गएका पर्यटकहरुलाई घान्द्रुकबाट–खुलिबाङ–मोहरिया–तमु हुँदै विरेठाँटी निस्कने कच्ची सडकबाट यात्रा गराउनका लागि अहिले बाटो मर्मतको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले घान्द्रुक घुम्न गएका र एबिसी पदयात्रामा गएका पर्यटक समस्या परेपछि अहिले सडक खुलाउन स्थानीय प्रशासन, प्राविधिक टोली स्याउलीबजार पुगेको बताए ।

“समस्यामा परेका पर्यटकलाई वैकल्पिक सडक मर्मत गरेर आवतजावत गराउने कि भनेर छलफलमा छौँ । हाल पानी पर्न कम भएको र नदीको बहाव पनि घटेकाले सडक बगाएको स्थानमा एकतर्फी भए पनि यातायात चलाउन सकिन्छ कि भनेर प्रशासनसँग छलफल गरिरहेका छौँ,” गाउँपालिका अध्यक्ष केसीले भने ।
अन्नपूर्ण गाउँपालिका–११ मा पर्ने घान्द्रुक गाउँ अन्नपूर्ण आधार शिविर (एबिसी) र घोरेपानी–पुनहिल पदयात्राको प्रवेशद्वार पनि हो ।

ताजा अपडेट

नेपालवाच विशेष