काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आजदेखि सुरु भएको छ। आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा सरकारले करिब ५० अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार असार ३०, ३१ र ३२ गते गरी तीन दिनमा कुल ५० अर्ब १० करोड रुपैयाँ राजस्व उठेको हो। यस अवधिमा असार ३० गते १६ अर्ब ५० करोड रुपैयाँ, असार ३१ गते २१ अर्ब १७ करोड रुपैयाँ र असार ३२ गते १२ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा भने ६४ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। यस आधारमा यस वर्ष असार मसान्तका अन्तिम तीन दिनको राजस्व संकलन अघिल्लो वर्षको तुलनामा कम देखिएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा राजस्व वृद्धिदर ५ प्रतिशतमा सीमित भएको छ। आर्थिक वर्ष २०६८/६९ देखि २०७८/७९ सम्मको १० वर्षमा औसत राजस्व वृद्धिदर १७ प्रतिशत रहेको थियो। त्यसपछि आर्थिक वर्ष २०८०/८१ मा ७ प्रतिशत र आर्थिक वर्ष २०८१/८२ मा ९ प्रतिशत राजस्व वृद्धिदर कायम भएको तथ्यांकले देखाएको छ।
प्रतिक्रिया