देशभरका छ वटा राजमार्ग अवरुद्ध
काठमाडौँ । निरन्तरको वर्षासँगै आएको बाढी पहिरोका कारण देशभरका छ वटा राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको आज साँझसम्मको तथ्यांकअनुसार बाढी पहिरो, डुबानलगायत कारणले छ वटा राजमार्ग अवरुद्ध भएका हुन् ।
बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसीमा सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ ।
बिपी राजमार्ग खण्डमा आइपर्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै गत जेठ २२ गतेदेखि बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवतजावतमा रोक लगाइएको हो । उक्त सडकमा बिहान ४:०० बजेदेखि बेलुका ६:०० बजेसम्म मात्र सवारीसाधन सञ्चालन हुने गर्दछन् ।
वर्षात्का कारण हुनसक्ने बाढी पहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुरस्थित कान्ति लोक पथअन्तर्गत सञ्चालन हुने सवारीसाधन रातिको समयमा रोक लगाइएको छ । नेपाल प्रहरीका अनुसार बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवतजावतमा रोक लगाइएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले इलाम जिल्लामा पर्ने मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिए । “वर्षाका कारण गत असार २३ देखि इलामको इलाम नगरपालिका-९, राजदुवालीस्थित मेची राजमार्गमा बाटो हिलो भई सवारीसाधन आवतजावत गर्न नसक्ने भएकाले उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ”, उनले भने ।
केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले ढुंगासहितको पहरोका कारण अर्घाखाँची जिल्लाको सालझन्डी-ढोरपाटन सडक पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिए । गत असार २८ देखि अर्घाखाँचीको पाणिनी गाउँपालिका-२, ढुंगेखोलास्थित सालझन्डी-ढोरपाटन सडकमाथिबाट ढुंगा खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको उनको भनाइ छ ।
सिन्धुपाल्चोकको अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ । गत असार ३१ गते भोटेकोशी गाउँपालिका-४, जिरोकिलाअन्तर्गत अरनिको राजमार्गमा सडक माथिबाट पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।
त्यस्तै, आज सिन्धुपाल्चोक भोटेकोशी गाउँपािलका-२ कोदारीस्थित अरनिको राजमार्गअन्तर्गत इकुमा पहिरो जाँदा आवागमन बन्द भएको छ । उक्त खण्डमा सडकमाथिबाट ढुंगा माटोसहित लेदो खसेर आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बागलुङ कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बागलुङ, जैमिनी नगरपालिका-८, बेलबगर कालीगण्डकी करिडोर सडकमाथिबाट ढुंगा र माटोसहितको पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
देशभरका छ वटा राजमार्ग अवरुद्ध
-
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
-
गैरआवासीय नेपालीलाई बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य नहुने
-
सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति: ९ दिन लामो आन्दोलन अन्ततः स्थगित
-
गोलभेँडा बजार व्यवस्थापनमा मन्त्री चौधरी सक्रिय, उपत्यका बाहिर निकासी हुँदै


प्रतिक्रिया