NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ५ गते

अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी – गत आवमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा ५ लाख ८ हजार ४७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् ।

तीमध्ये दक्षिण एसियाली मुलुकका ३ लाख ८४ हजार १४५ र अन्य मुलुकका १ लाख २४ हजार ३३१ रहेका छन् । सबैभन्दा बढी ३ लाख ७५ हजार ७९७ भारतीय पर्यटक यहाँ आएका हुन् । दोस्रोमा चिनियाँ १२ हजार ५३९ र तेस्रोमा अमेरिकाका ९ हजार ८८४ पर्यटक यहाँ आएका हुन् ।

यस्तै बेलायतका ९ हजार ८५९, फ्रान्सका ७ हजार ९३९, मलेसियाका ७ हजार ८४८, जर्मनीका ७ हजार ६३४, बंगलादेशका ७ हजार ४४८, अस्ट्रेलियाका ७ हजार ९५ र इजरायलका ६ हजार ३९८ पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाले आव २०८१/८२ को तुलनामा गत आवमा दोब्बर बढी विदेशी पर्यटक यहाँ आएको बताए । उनका अनुसार आव २०८१/८२ मा २ लाख ७८ हजार ११३ जनाले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका दिए । पर्यटक आगमनमा गत आवमा नयाँ अभिलेख कायम भएको उनको भनाइ छ ।

गत जेठमा भारतसहित दक्षिण एसियाली देशका पर्यटकको संख्या झण्डै ३०० प्रतिशतले वृद्धि भएको प्रमुख डा. कडारियाले बताए । भारतीय पर्यटक यति ठूलो संख्यामा आएका यो पहिलोपटक हो । भारतमा पोखरा, मुक्तिनाथलगायत यस क्षेत्रका गन्तव्यस्थलको प्रवर्द्धन हुनु, यातायातको सहजता, सामाजिक सञ्जालमार्फत भइरहेको प्रचारप्रसारलगायत कारणले भारतीय पर्यटक बढेका हुन् ।

उक्त याममा गर्मी छल्न भारतीय पर्यटक पोखरा र आसपासका गन्तव्यमा आउने गरेका छन् । वैशाख–जेठ महिनामा पर्यटकीय राजधानी पोखरामा होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतसम्म पुगेको थियो । पोखरा आउने भारतीय पर्यटकमध्ये करिब ४० प्रतिशत मुक्तिनाथ जाने गरेको प्रमुख डा. कडरियाले बताए । पदयात्रा पर्यटनका लागि अन्नपूर्ण क्षेत्र विश्व प्रसिद्ध गन्तव्य मानिन्छ ।

अन्नपूर्ण चक्रीय पदमार्ग भएर पर्यटक अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थल पुग्ने गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ । ७ हजार ६०० वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले प्रसिद्ध छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, आतिथ्यता र सेवा सुविधाका हिसाबले यस क्षेत्र घुमफिरका लागि उत्कृष्ट मानिन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष