NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन १० गते

नवीकरण हुन नसक्दा देशभरका दुई हजार एम्बुलेन्स थन्किए

 

चितवन- नवीकरण हुन नसक्दा देशभरका दुई हजार एम्बुलेन्स थन्किएका छन्। स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्थाबाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन्।

संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन संघ) का अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्थाबाहेकले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छैनन्। यो सङ्ख्या अरु थप एक हजार ५ सय रहेको उनले जानकारी दिए।

देशभरमा ६ हजार हाराहारी एम्बुलेन्स रहेको तथ्यांक छ। तीमध्ये स्वास्थ्य संघसंस्थाले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छन् भने गैरसरकारी संस्था र निजी क्षेत्रले सञ्चलान गरेका एम्बुलेन्स सञ्चालन हुन नसकेका हुन्।

ऐन आएदेखि नै निरन्तररुपमा संशोधनका लागि सरकारी तवरमा पहल गर्ने काम भइरहेको अध्यक्ष लामिछानेले जानकारी दिए। तत्कालीन स्वास्थ्यमन्त्री डा सुधा शर्मालाई उक्त समस्याबारे अवगत गराएको अध्यक्ष लामिछाने बताउँछन्। नयाँ सरकार गठन भएपछि स्वास्थ्य मन्त्रीसमक्ष आफ्ना समस्या राख्ने तयारीमा आफूहरु रहेको उनको भनाइ छ।

ऐन संशोधन नभएमा धेरै एम्बुलेन्स थन्किने र आम नागरीकले सहजरुपमा सेवा पाउन कठिन हुने उनले बताए। अध्यक्ष लामिछानेले भने, ‘मानवतासँग प्रत्यक्ष जोडिएकाले यस विषयलाई नयाँ सरकारले गम्भीरताका साथ हेर्नुपर्छ।’ यसबाट चालकको रोजगारी समेत गुमेको उनले बताए।

ताजा अपडेट

नेपालवाच विशेष