NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन १२ गते

विश्वकप क्रिकेट लिग–२ नेपाल नामिबियासँग पराजित

काठमाडौँ। आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल नामिबियासँग पराजित भएको छ।

नेदरल्यान्ड्सको उट्रेच्टमा आज सम्पन्न खेलमा नेपाल नामिबियासँग तीन रनको झिनो अन्तरले पराजित भएको हो।

नामिबियाले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित  ५० ओभरमा ६ विकेट गुमाएर २०८ रन मात्र बनाउन सफल भयो।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४५ रनको योगदान दिए भने रोहित पौडेलले ४१ रन बनाए। त्यस्तै आरिफ शेखले अविजित ३८ रन तथा कुशल भूर्तेलले ३४ रन बनाए।

अन्तिम ओभरसम्म पुगेको खेलमा गुल्शन झाले १० बलमा अविजित १९ रन बनाए पनि नेपाललाई जित दिलाउन पर्याप्त भएन। नामिबियाका ज्याक ब्रासेलले ३ विकेट लिए भने रुबेन ट्रम्पेलम्यानले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रनको योगफल बनाएको थियो।

नामिबियाका जान फ्रिलिङ्कले १४९ बलमा १०० रनको शतकीय इनिङ्स खेले भने लाउरेन स्टिनक्याम्पले ५९ रनको योगदान दिए।

नेपालका करण केसी उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा २९ रन खर्चेर ५ विकेट लिए। त्यस्तै सोमपाल कामीले १ विकेट लिए।

ताजा अपडेट

नेपालवाच विशेष