NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन १३ गते

सुनसरी घटनापछि सर्वदलीय अपिल : संवादबाट समस्या समाधान गर्न आग्रह

काठमाडौं। सुनसरीसहित विभिन्न जिल्लामा पछिल्लो समय देखिएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सर्वदलीय बैठकले शान्ति, सामाजिक सद्भाव र सहअस्तित्व कायम राख्न सबै पक्षलाई अपिल गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ। बैठकले घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।

बैठकपछि जारी संयुक्त वक्तव्यमा नेपाल विविधता, सहिष्णुता र सहअस्तित्वमा आधारित मुलुक भएको उल्लेख गर्दै सामाजिक सद्भावमा असर पार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरिएको छ।

“आवेग र मुठभेडले समस्याको समाधान गर्दैन, बरु अवस्था थप जटिल बनाउँछ,” वक्तव्यमा भनिएको छ। असन्तुष्टि र मागलाई लोकतान्त्रिक प्रक्रिया, शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट समाधान गर्न सम्बन्धित सबै पक्षलाई आह्वान गरिएको छ।

स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाउन आग्रह

सर्वदलीय बैठकले शान्ति र सद्भाव कायम गर्न केन्द्रस्तरको प्रयास मात्र पर्याप्त नहुने भन्दै प्रदेश, जिल्ला र स्थानीय तहमा समेत सर्वदलीय तथा सर्वपक्षीय छलफल गर्न आग्रह गरेको छ।

राजनीतिक दलका स्थानीय समितिहरूलाई धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनसँग सहकार्य गर्दै विश्वासको वातावरण निर्माण गर्न सक्रिय हुन अनुरोध गरिएको छ।

यस्ता घटना दोहोरिन नदिन प्रतिबद्धता

बैठकमा सहभागी दलहरूले भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन आवश्यक समन्वय, पहल र अनुगमन गर्ने प्रतिबद्धता जनाएका छन्।

सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, घृणास्पद अभिव्यक्ति र अफवाहले अवस्था थप बिगार्न सक्ने भन्दै नागरिकलाई जिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह गरिएको छ। सञ्चारमाध्यमलाई पनि तथ्यमा आधारित र संयमित सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ।

निष्पक्ष छानबिन र राहतका लागि सरकारलाई आग्रह

सर्वदलीय बैठकले नागरिकको सुरक्षा राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै परिस्थितिलाई सामान्य बनाउन सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइएको छ।

राजनीतिक दलहरूले राष्ट्रिय एकता र सामाजिक सद्भावको संरक्षण गर्दै उत्पन्न समस्याको दिगो र शान्तिपूर्ण समाधानका लागि सरकार तथा समाजलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

ताजा अपडेट

नेपालवाच विशेष