NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन १९ गते

जुम्लामा काँचो स्याउ टिप्न नपाइने

हुम्ला – जुम्ला जिल्लामा स्याउ पाक्न सुरु भएसँगै कृषि विकास कार्यालय जुम्लाले किसानलाई समयअघि काँचो स्याउ नटिप्न सूचना जारी गरेको छ।

कार्यालयका प्राविधिक टोलीले तातोपानी गाउँपालिका–६ का स्याउ बगैँचामा पुगेर स्याउको परिपक्वता र गुणात्मकता परीक्षण गर्दै किसानलाई पूर्ण रूपमा पाकेपछि मात्र स्याउ सङ्कलन गर्न सो सूचना निकालेको हो।

स्याउको बाहिरी रङ रातो हुँदैमा त्यसलाई परिपक्व र पाकेको मान्न नमिल्ने कृषि बिकास कार्यालय जुम्लाका रामभक्त अधिकारीले बताए।

तातोपानी–६ बाँजराउल स्थित बगैँचामा गरिएको परीक्षणमा स्याउको गुलियोपना ८ ब्रिक्स मात्र मापन भएको छ। बजारका लागि उपयुक्त मानिने स्याउमा कम्तीमा १२ ब्रिक्स गुलियोपना हुनुपर्नेछ। त्यसैले अहिले स्याउ टिपेर बजार पठाउने समय नभएको कार्यालयको निष्कर्ष छ।

कार्यालयले आगामी दिनमा पनि जिल्लाका विभिन्न स्थानीय तहका स्याउ बगैँचामा पुगेर परिपक्वता परीक्षणलाई निरन्तरता दिने जनाएको छ।

किसानलाई वैज्ञानिक विधिबाट स्याउको परिपक्वता परीक्षण गरी गुणस्तरीय उत्पादन मात्र बजारमा पठाउन आग्रह गरिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष