NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन २० गते

प्राथमिक बजार सुधारका लागि सेबोनद्वारा ७ सदस्यीय कार्यदल गठन

काठमाडौं — नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक बजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउन सात सदस्यीय ‘प्राथमिक बजार सुधार सहजीकरण कार्यदल’ गठन गरेको छ ।

बोर्डका नियमन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा गठन गरिएको कार्यदलमा सेबोनका तीन कर्मचारी, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का एक प्रतिनिधि, मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पूँजी बजार समितिका संयोजक सदस्य रहेका छन् ।

कार्यदलले आवश्यकता अनुसार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान), विद्युत् नियमन आयोग, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान), स्टक ब्रोकर एसोसिएसन अफ नेपाल तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडलगायतका सरोकारवाला निकायका विज्ञलाई सहभागी गराउन सक्नेछ ।

आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिअनुसार नियामकीय सुधारका एजेन्डा कार्यान्वयन गर्ने उद्देश्यले गठन गरिएको कार्यदलको पहिलो बैठक साउन १९ गते बसेको छ ।

कार्यदलले आईपीओ निष्कासन प्रक्रिया, बुक बिल्डिङ, मर्चेन्ट बैंकिङको भूमिका, आईपीओ बाँडफाँट प्रणाली, डिजिटल आईपीओ, निष्कासन योग्यता, मूल्य निर्धारण, संस्थागत तथा एंकर लगानीकर्ता, ड्यु डिलिजेन्स र पोस्ट इश्यू मनिटरिङलगायत विषयमा अध्ययन गरी सुधारका लागि सुझाव दिनेछ ।