NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन २१ गते

बझाङ–बनलेक ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढ्यो

काठमाडौं। बझाङदेखि डोटीको बनलेक (पश्चिम सेती) जोड्ने ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाइएको छ। करिब २ हजार ५०० मेगावाट बराबरको विद्युत् प्रवाह गर्ने लक्ष्यसहित प्रस्ताव गरिएको उक्त आयोजना निर्माणका लागि आवश्यक अनुमति प्रक्रिया सुरु गरिएको हो।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले प्रसारण लाइन निर्माणका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ। विद्युत् ऐन, २०४९ को व्यवस्थाअनुसार आयोजनाको विवरणसहित अनुमतिका लागि आवेदन दिइएको हो।

प्रस्तावित प्रसारण लाइन बझाङको जयपृथ्वी नगरपालिका–१ मा निर्माण हुने चैनपुर सबस्टेसनदेखि डोटीको शिखर नगरपालिका–१० मा प्रस्तावित बनलेक (पश्चिम सेती) सबस्टेसनसम्म पुग्नेछ। यसको कुल लम्बाइ ६० किलोमिटर रहनेछ।

आयोजनाअन्तर्गत ४००/१३२ केभी क्षमताको १६० एमभीए चैनपुर सबस्टेसन र ४००/१३२ केभी क्षमताको ३१५ एमभीए बनलेक (पश्चिम सेती) सबस्टेसन निर्माण गरिनेछ।

प्रसारण लाइनमा १४३ वटा डबल सर्किट टावर निर्माण हुनेछन्। टावरको अधिकतम उचाइ ६१ मिटर रहनेछ भने टावरबीचको औसत दूरी ४०८ दशमलव ९९ मिटर रहनेछ। केही स्थानमा न्यूनतम दूरी १२७ दशमलव ७९ मिटरसम्म हुने अनुमान गरिएको छ।

आयोजना निर्माणका लागि कुल २९५ दशमलव ४२ हेक्टर जमिन आवश्यक पर्नेछ। त्यसमध्ये टावर निर्माणका लागि ३० दशमलव ४१ हेक्टर र प्रसारण लाइनको क्षेत्राधिकारका लागि करिब २६५ हेक्टर जग्गा आवश्यक पर्नेछ।

त्यस्तै, दुईवटा सबस्टेसन निर्माणका लागि २१ दशमलव ४१ हेक्टर जमिन आवश्यक पर्नेछ। जसमध्ये बनलेक सबस्टेसनका लागि सात हेक्टर र चैनपुर सबस्टेसनका लागि १४ दशमलव ३७ हेक्टर जग्गा प्रयोग हुनेछ। प्रसारण लाइनको क्षेत्राधिकार ४६ मिटर रहनेछ।

आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण तथा सञ्चालनका क्रममा भूक्षय, बाढी, वायु प्रदूषणलगायतका वातावरणीय असर न्यून हुने गरी काम अघि बढाइने जनाइएको छ।

आयोजनासम्बन्धी सुझाव तथा राय दिन विद्युत् विकास विभागले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित पक्षलाई आग्रह गरेको छ।