संसद् बैठक छाडेर हिँड्ने सांसदको हाजिरी जाँच गर्दै रास्वपा
काठमाडौं । संसद् बैठकमा सांसदहरूको घट्दो उपस्थिति र बैठक सुरु भएपछि बीचमै बाहिरिने प्रवृत्ति बढेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको हाजिरी विश्लेषण गर्ने भएको छ।
संसद्को गरिमा र प्रभावकारिता कमजोर हुन नदिन र सांसदहरूको जिम्मेवारीबोध बढाउन रास्वपा संसदीय दलले पछिल्ला केही बैठकहरूको हाजिरी विवरण अध्ययन गर्न लागेको हो।
रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार २०८३ असार ३० र ३१ गते तथा साउन १४, १८ र २२ गते बसेका संसद् बैठकहरूको उपस्थिति विवरण संसद् सचिवालयबाट झिकाएर विश्लेषण गरिनेछ।
हाजिरी अध्ययनको जिम्मेवारी संसदीय दलका सचेतकद्वय प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई दिइएको छ। उनीहरूले ७ दिनभित्र प्रतिवेदन बुझाउनेछन्।
मुख्य सचेतक बुर्लाकोटीले संसद्लाई मर्यादित, उत्तरदायी र प्रभावकारी बनाउन तथा सांसदहरूको नियमित उपस्थिति सुनिश्चित गर्न यो पहल गरिएको बताएका छन्।
प्रतिवेदन प्राप्त भएपछि त्यसका आधारमा संसदीय दलले आवश्यक निर्णय लिने रास्वपाले जनाएको छ।


प्रतिक्रिया