किशोर श्रेष्ठ पक्राउप्रति पत्रकार महासंघको आपत्ति
काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ। सरकारी संयन्त्र प्रयोग गरी श्रेष्ठमाथि गरिएको व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकार आचारसंहिता र नेपालको संविधानविपरीत भएको महासंघको ठहर छ।
महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा श्रेष्ठ पक्राउ परेलगत्तै समाचारको स्रोत खोज्ने भन्दै बुधबार राति करिब १ बजे उनको निवास र बिहीबार बिहान पत्रिकाको कार्यालयमा प्रहरीले खानतलासी गरेको जानकारी प्राप्त भएको उल्लेख गरिएको छ।
समाचारमा चित्त नबुझेका विषयमा आवश्यक कारबाही र निरूपण गर्ने अधिकार प्रेस काउन्सिल नेपालमा रहेको महासंघले स्मरण गराएको छ। घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतामाथि प्रहार गरेको भन्दै महासंघले सरकारको शैलीप्रति खेद व्यक्त गर्दै कडा भर्त्सना गरेको छ।
महासंघले पत्रकार श्रेष्ठलाई तत्काल बिनासर्त रिहा गर्न तथा प्रेसविरोधी व्यवहार सच्याउन सरकारसँग माग गरेको छ। समाचारसँग सम्बन्धित विषय भए प्रेस काउन्सिलमार्फत कानुनी प्रक्रिया अघि बढाई समाधान खोज्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
त्यस्तै, आफ्नो क्षेत्राधिकारअनुसार प्रभावकारी भूमिका निर्वाह गर्न महासंघले प्रेस काउन्सिल नेपाललाई आग्रह गरेको छ।
श्रेष्ठलाई बुधबार राति करिब ९ बजे ललितपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो। उनी हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।


प्रतिक्रिया