सेनामा २८० जनाका लागि जागिर खुल्यो, कसले दिन पाउँछन् आवेदन ?
काठमाडौं । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, जङ्गी अड्डाले रिक्त रहेको अधिकृत क्याडेट (सहायक सेनानी) पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । शुक्रबार (साउन २९) प्रकाशित सूचना अनुसार, सेनाले खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि कुल २८० जना नयाँ क्याडेटको माग गरेको हो ।
जसमा खुलातर्फ १४६ जना, महिला २४, आदिवासी/जनजाति ३९, मधेसी ३३, दलित १८, पिछडिएको क्षेत्र ६ र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त सैनिकका सन्ततिका लागि १४ जनाको कोटा निर्धारण गरिएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइट https://vacancy.nepalarmy.mil.np मार्फत अनलाइन आवेदन दिनुपर्ने निर्देशनालयले जनाएको छ।
सूचना अनुसार दरखास्त दिने साउन २९ देखि आगामी भदौ १८ गतेसम्म नियमित दस्तुरमा र दोब्बर दस्तुर तिरेर आगामी भदौ १९ देखि भदौ २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। दरखास्त दस्तुर १,००० रुपैयाँ तोकिएको छ भने एकभन्दा बढी समावेशी समूहमा प्रतिस्पर्धा गर्नेले प्रत्येक समूहका लागि थप २० प्रतिशत दस्तुर बुझाउनुपर्नेछ।
उमेरको हकमा, प्रमाणपत्र तह (कक्षा १२) उत्तीर्ण गरेकाहरूको हकमा दरखास्त पेस गर्ने अन्तिम मिति आगामी भदौ २८ सम्म १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको र स्नातक तह उत्तीर्ण गरेकाहरूको हकमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ। बहालवाला सैनिक उम्मेदवारहरूको हकमा भने सोही मितिसम्म २६ वर्ष ननाघेको हुनुपर्ने प्रावधान छ।
उम्मेदवारहरूले काठमाडौँको स्वयम्भूस्थित केन्द्रीय भर्ना छनोट केन्द्रका साथै इटहरी, बर्दिबास, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र दीपायलमा रहेका पृतना हेडक्वार्टरहरूमध्ये आफूलाई पायक पर्ने स्थानबाट दरखास्त प्रक्रिया अगाडि बढाउन सक्नेछन्। अनलाइन फारम भरेपछि उम्मेदवारले प्रिन्ट प्रतिसहित आवश्यक कागजातहरू लिएर तोकिएको भर्ना केन्द्रमा स्वयं उपस्थित भई दर्ता गराउनुपर्नेछ। छनोट प्रक्रियामा शारीरिक परीक्षा, लिखित परीक्षा, गुणमापक परीक्षा र अन्तर्वार्ता समावेश हुने सूचनामा उल्लेख छ।
ताजा अपडेट
-
कांग्रेसको असन्तुष्ट पक्षको राष्ट्रिय भेला सुरु, देउवाले गरे उद्घाटन
-
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा भट्ट नियुक्त
-
गगनलाई अस्वीकार गरेर कांग्रेस अघि बढ्दैन : सुजाता कोइराला
-
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो : सभामुख अर्याल
-
पुटिनको भ्रमणपछि जापानलाई अमेरिकी समर्थन


प्रतिक्रिया