NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ३१ गते

नेपालमै बनेको विद्युतीय स्कुटर प्रवर्द्धनमा सरकारको सहयोग रहने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन र निर्माण गरिएको विद्युतीय स्कुटरको प्रवर्द्धनमा सरकारको साथ रहने बताएका छन् ।

काठमाडौंको बुढानीलकण्ठस्थित सिप्रदी यात्रीको कारखानामा पुगेर नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ को निर्माण प्रक्रिया अवलोकन गर्दै उनले नेपाली उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन आग्रह गरे ।

“तपाईंहरूले गरेको मेहनत प्रशंसनीय छ। नेपालमै डिजाइन भएर निर्माण भएको यात्री पीटू सुखद उपलब्धि हो। गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल बन्नुहोस्, सरकार तपाईंहरूको साथमा छ,” अर्थमन्त्री वाग्लेले भने ।

नेपालले आफ्नै डिजाइन र इन्जिनियरिङमा विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माण गर्नु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उनले उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सुझाव दिए ।

उनले विश्वका ठूला कम्पनीहरूले विभिन्न देशमा डिजाइन र उत्पादन गर्ने उदाहरण दिँदै नेपाली उत्पादनलाई अझ व्यापक बनाउन आवश्यक रहेको बताए । नेपाली इन्जिनियर र डिजाइनरहरूको मेहनतको सम्मान गर्दै उनले सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा यात्री मोटरसाइकलका संस्थापक तथा सीईओ असिम पाण्डेले स्कुटरको डिजाइन, सुरक्षा परीक्षण, प्रयोग भएका प्रविधि तथा सफल परीक्षणबारे अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमै विद्युतीय स्कुटर डिजाइन र उत्पादन गर्नु नयाँ उपलब्धि भएको बताए । उनका अनुसार नेपाली भूगोलका कठिन पहाडी तथा हिमाली क्षेत्रमा सफल परीक्षणपछि ‘यात्री पीटू’ छिट्टै बजारमा ल्याउने तयारी भइरहेको छ ।

कम्पनीका अधिकारीहरूले डीसी चार्जरयुक्त विद्युतीय स्कुटर नेपालमै निर्माण हुनु विश्वमै पहिलो प्रयास भएको दाबी गरेका छन् । श्रेष्ठले नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउन विद्युतीय ब्याट्री तथा पार्टपुर्जाका कच्चा पदार्थमा सरकारले सहुलियतपूर्ण नीति लिनुपर्ने आवश्यकता औंल्याए ।

केही दिनमै सार्वजनिक गर्ने तयारी गरिएको ‘यात्री पीटू’ हाल गोप्य राखिएको छ । नेदरल्याण्ड्सबाट इन्जिनियरिङ अध्ययन सकेर फर्किएका असिम पाण्डेले सन् २०१७ मा ‘यात्री मोटरसाइकल’ स्थापना गरेका थिए । हाल उक्त कम्पनी सिप्रदी ट्रेडिङसँगको सहकार्यमा ‘सिप्रदी यात्री’का रूपमा सञ्चालन हुँदै आएको छ ।