‘अमेरिका-इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण’
काठमाडौं। अमेरिका र इरानबीच रोकिएको वार्ता पुनः सुरु गर्न होर्मुज जलसन्धिबारे इरान र ओमानबीच हुने सम्भावित सम्झौता महत्वपूर्ण हुने कतारले जनाएको छ। कतार अमेरिका-इरान वार्तामा प्रमुख मध्यस्थकर्तामध्ये एक हो।
फेब्रुअरीको अन्त्यतिर अमेरिका र इरानबीच युद्ध सुरु भएपछि इरानले होर्मुज जलसन्धि बन्द गरेको थियो। सामान्य अवस्थामा विश्वको करिब पाँचौँ भाग तेल तथा एलएनजी यही जलमार्गबाट ओसारपसार हुने गर्छ।
जलसन्धिको दुवैतर्फ रहेका इरान र ओमानले केही समययता यसबाट हुने पानीजहाजको आवागमन पुनः सञ्चालन गर्ने विषयमा छलफल गर्दै आएका छन्। इरानले प्रस्तावित मार्गको भौगोलिक अवस्थिति (कोअर्डिनेट)बारे दुवै पक्षबीच सहमति भएको जनाएको छ।
कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीले पत्रकारसँग भने, ‘हामी ओमान र इरानबीच जलसन्धिबारे हुने सम्झौताको प्रतीक्षामा छौँ, जसले हामीलाई वार्ता प्रक्रियामा फर्किन सक्षम बनाउने छ।’ उनले होर्मुज जलसन्धिबारे हुने सम्झौताले अमेरिका र इरानबीचको वार्ता पुनः सुरु गर्न सहज बनाउने बताए। यसअघि जुनमा दुई देशबीच भएको समझदारी पत्र (एमओयू) जलसन्धि व्यवस्थापनसम्बन्धी विषयमा सहमति हुन नसकेपछि कार्यान्वयनमा आउन सकेको थिएन।
इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेरी घलिबाफले मङ्गलबार अमेरिकाले नौसैनिक नाकाबन्दी हटाउनेलगायत तेहरानका माग पूरा नगरेसम्म रणनीतिक जलमार्ग पुनः नखोलिने बताए।
सोमबार इरानले वार्ता ‘गम्भीर ढङ्गले अघि बढिरहेको’ र संयुक्त वक्तव्यको मस्यौदाबारे विचार आदानप्रदान भइरहेको जनाएको थियो।
इरानले हाल पानीजहाजलाई अनुमति लिन तथा पारवहन शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ। अमेरिका र यस क्षेत्रका अन्य केही देशले उक्त व्यवस्थाको विरोध गर्दै आएका छन्।
ताजा अपडेट
-
‘अमेरिका-इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण’
-
प्रधानमन्त्री र भारतका स्थल सेनाध्यक्ष सेठबीच भेटवार्ता
-
विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड आम्दानी, तर ऊर्जा क्षेत्रमा अझै चुनौती : मन्त्री श्रेष्ठ
-
सुन र चाँदीको नयाँ मूल्यसूची सार्वजनिक, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
-
ट्रम्पको अनुमोदन दर राष्ट्रपतिकालकै न्यून विन्दुमा


प्रतिक्रिया