NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ ६ गते

जुम्लामा ‘कृषि, पर्यटन तथा औद्योगिक व्यापार’ महोत्सव हुदेै

जुम्ला । जुम्लाको कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले ‘कृषि, पर्यटन तथा औद्योगिक व्यापार’ महोत्सव सुरु भएको छ । उद्योग वाणिज्य सङ्घ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाको संयुक्त आयोजनामा पाँचौँ बृहत् कृषि, पर्यटन, कृषि, संस्कृति तथा औद्योगिक व्यापार मेला आजदेखि सुरु भएको हो ।

जिल्लास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिलबहादुर रोकायाले जुम्लामा उत्पादन हुने अग्र्यानिक कृषिउपज, यहाँका पर्यटकीय सम्भावना बोकेका क्षेत्रको प्रचारप्रसार गर्ने तथा संस्कृति तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यका साथ १७ दिने बृहत् औद्योगिक व्यापार महोत्सव सञ्चालन गरिएको जानकारी दिए ।

जिल्ला सदरमुकाम खलङ्गा बजारमा रङ्गशालामा आयोजित महोत्सवमा स्थानीय र राष्ट्रियस्तरका चर्चित कलकारको प्रस्तुतिसमेत रहने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष विश्वराज खत्रीले बताए । प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले महोत्सवले उद्योग, पर्यटन र संस्कृति क्षेत्रको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने, उद्यमीलाई अवसर र जिल्लाका लागि नयाँ कार्ययोजनाका साथ अघि बढ्ने अपेक्षा राखिएको बताए।

यहाँको स्याउ, सिमी, कालिमार्सी र रातीमार्सी धान तथा पशुपालनलाई प्रवर्द्धन गरेमा जिल्लाका साथै मुलुक समृद्ध बन्ने अपेक्षासहित महोत्सव आयोजना गरिएको चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष बिर्ख कार्कीले जानकारी दिनुभयो । जुम्लासहित कर्णालीको मौलिक पहिचानका रूपमा रहेको खस सभ्यता झल्काउने हुड्के नाच, मागल गानको समेत मेलामा प्रर्दशन हुने सङ्घले जनाएको छ ।

महोत्सवको आकर्षण स्थानीय उत्पादन

उद्योग वाणिज्य सङ्घ जुम्लाद्वारा आयोजित महोत्सवमा स्थानीय उत्पादन अग्र्यानिक स्याउ, फापर, कोदोका परिकार, चिनो, कागुनोको खीर, मकै तथा मार्सेका लड्डु, राडीपाखी, खरायोको टोपी, गलबन्दी मुख्य आकर्षण बनेका छन् । आलुको चिप्स, कोदोको मःमः, फापरको केक, चौँरीको दूधबाट बनेको छुर्पीका साथै पुराना संस्कृतिका कपडासमेत नमूनाका लागि महोत्सवमा राखिएको आयोजक सङ्घले जनाएको छ । त्यस्तै, स्टेशनरी सामान, कपडा होलसेल बिक्री, विभिन्न सामानका गरेर १०० भन्दा बढी कक्ष (स्टल) महोत्सवस्थलमा राखिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष