प्रधानमन्त्रीले कालो चस्मा लगाउनुपर्ने कारणसहित संसद सचिवालयलाई पठाए स्वास्थ्य रिपोर्ट
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले संसद् बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने कारण खुलाउँदै संघीय संसद् सचिवालयलाई स्वास्थ्य परीक्षण रिपोर्ट पठाएका छन्।
प्रधानमन्त्री शाह बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुँदैछन्। उक्त बैठकमा सांसदहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम छ।
सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक र सचेतकमर्फत् सांसदहरूलाई कालो चस्मा लगाएर बैठकमा उपस्थित नहुन आग्रह गरेका थिए। स्वास्थ्यसम्बन्धी कारणले चस्मा लगाउनुपर्ने अवस्था भए स्वास्थ्य परीक्षण रिपोर्टसहित कारण खुलाउन पनि सभामुखले आग्रह गरेका थिए।
सोही आग्रहअनुसार प्रधानमन्त्री शाहले आँखाको समस्याका कारण कालो चस्मा लगाउनुपर्ने अवस्था रहेको जानकारी संसद् सचिवालयलाई गराएका हुन्।
प्रधानमन्त्रीले साउन २२ गते नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका थिए। उनको परीक्षण लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले गरेका थिए।
स्वास्थ्य परीक्षण रिपोर्टअनुसार प्रधानमन्त्री शाहलाई उज्यालोमा हेर्न असहज हुने समस्या देखिएको छ। साथै, आँखामा सुख्खापन देखिने भएकाले समय–समयमा आइड्रप प्रयोग गर्नुपर्ने चिकित्सकीय सुझाव दिइएको छ।
यही स्वास्थ्य अवस्थाका कारण उज्यालोबाट आँखालाई जोगाउन कालो चस्मा प्रयोग गर्नुपर्ने भएकाले प्रधानमन्त्री शाहले संसद् बैठकमा पनि कालो चस्मा लगाएर उपस्थित हुने जानकारी गराएका हुन्।


प्रतिक्रिया