त्रिशूली–कोलनी क्षेत्रका सेल्टरमा खाना र पानीकाे अभाव
काठमाडौं । त्रिशूली–कोलनी क्षेत्रमा आश्रय लिएर बसिरहेका बाढीपीडितहरूले खाना र पानीको अभाव भएको गुनासो गरेका छन् ।
सरकारी संयन्त्र उद्धार कार्यमा व्यस्त हुँदा बाढीपीडितहरूले खाना र पानीको अभाव झेलेका हुन् ।
बाढीको चपेटामा परेका मच्छिन्द्र नरसिंह प्याकुरेलले त्रिशूली–कोलनी क्षेत्रमा धेरै बाढीपीडितहरू आश्रय लिएर बसिरहेका भए पनि उनीहरू खाना र पानीको अभाव सामना गरिरहेको उल्लेख गरेका छन् ।
उनले सहयोगी मनहरूलाई उक्त क्षेत्रमा पुगेर राहत सामग्री र खाद्यान्न सहयोग उपलब्ध गराइदिन अनुरोधसमेत गरेका छन् । ‘तपाईंहरूमध्ये राहत सामग्री, खाना वा खाद्यान्न सहयोग गर्न चाहनुहुने व्यक्ति, संस्था वा समूह हुनुहुन्छ भने कृपया त्रिशूली–कोलोनी क्षेत्रमा सहयोग पुर्याइदिनुहुन हार्दिक अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।
गत बुधबार त्रिशूली नदीमा आएको अकल्पनीय बाढीका कारण त्रिशूली बजारमा जनधनको ठूलो क्षति भएको छ । उक्त बाढीमा भागेर ज्यान जोगाउन सफल भएकाहरूमध्ये अधिकांशले अहिले त्रिशूली–कोलनी क्षेत्रमा आश्रय लिइरहेका छन् । सरकारको राहत प्रभावकारी हुन नसक्दा अहिले त्यहाँ आश्रय लिइरहेकाहरू आधारभूत आवश्यकताबाट समेत वञ्चित हुने अवस्था बनेको छ ।


प्रतिक्रिया