नेपाल भलिबल लिग: काठमाडौँको विजयी सुरुआत
काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) मा काठमाडौँ रेड्सले विजयी सुरुआत गरेको छ ।
आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न खेलमा मधेस वारियर्सलाई ३–२ अन्तरको सेटले हराउँदै काठमाडौँले विजयी सुरुआत गरेको हो ।
खेलमा मधेसले पहिलो सेट २५–२० ले जित्दै १–० को अग्रता बनाएको थियो । काठमाडौँले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २६–२४ तथा तेस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्यो ।
मधेसले चौथो सेट २५–२२ ले जित्दै खेलमा रोमाञ्चकता थप्यो । निर्णायक पाँचौँ सेटमा काठमाडौँ १६–१४ ले विजयी भयो । जारी प्रतियोगितामा मधेस वारियर्सको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ऊ सगरमाथा स्म्यासर्सविरुद्ध ३–१ सेटले पराजित भएको थियो ।
जारी लिगमा ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । भदौ २७ गतेसम्म सञ्चालन हुने लिगको उपाधि विजेता टिमले रु २० लाख पाउने आयोजक केडिया ग्रुपले जनाएको छ ।


प्रतिक्रिया