बाढीको पीडामा मित्रराष्ट्रको मल्हम, कुन देशबाट कति सहयोग आयो ?
काठमाडौं । दुई साताअघि भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको धनजनको क्षतिमा मल्हम लगाउन विभिन्न मित्र राष्ट्रहरूले सहयोगको हात अघि बढाएका छन् । सरकारी अभिलेखअनुसार बाढीको पहिलो दिन भदौ १० देखि २३ गतेसम्म १५ भन्दा बढी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय नियोगहरूले ३६० टनभन्दा बढी राहत सामग्री उपलब्ध गराएका छन् । त्यस्तै, बाढीमा फसेकाको उद्धारकार्यमा सहायता गर्न २०७ जना विदेशी विशेषज्ञ नेपाल आइपुगेका छन् ।
योबीचमा सबैभन्दा बढी सहयोग संयुक्त अरब इमिरेट्स (युएई) ले गरेको छ । छिमेकी मुलुक चीन र भारतले अत्याधुनिक उद्धार उपकरण, डीएनए तथा फरेन्सिक प्रविधि र प्राविधिक जनशक्तिको परिचालनमा सहयोग गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, विभिन्न ४ वटा उडानमार्फत युएईले १६२.२ टनभन्दा बढी राहत सामग्री नेपाल सरकारलाई उपलब्ध गराएको छ । युएईले २ वटा विशेष रेस्क्यु सवारी साधन, २ वटा कन्टेनर, ५०० थान फेमिली टेन्ट, २००० थान ब्ल्याङ्केट, १६० थान बेबी बास्केट, शेल्टर टूल किट र अन्य विपद् उद्धार सामग्री उपलब्ध गराएको हो । युएईका राजदूत अब्दुल्ला साइद मुबारक जारवान अल्शम्सी आफैँ उपस्थित भई यी सामग्री विज्ञान प्रविधि तथा नव–प्रवर्तन मन्त्री महावीर पुन र युनिसेफका लजिस्टिक अफिसर पूर्ण योन्जनलाई हस्तान्तरण गरेका थिए ।
राहत सामग्रीको परिमाणका आधारमा दोस्रो ठूलो सहयोग पुर्याउने मुलुक चीन हो । चिनियाँ वायुसेनाका ५ वटा चार्टर उडानमार्फत १०१.१४ टनभन्दा बढी सामग्री र अत्याधुनिक उद्धार उपकरण नेपाल आइपुगेको छ । चीनबाट टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, इमर्जेन्सी किट र खाद्यान्नका साथै बाढीग्रस्त क्षेत्रमा खोजी र उद्धारका लागि २८ वटा रेस्क्यु होभरक्राफ्ट, ९ वटा सोलार एलआईजी, स्थायी म्याग्नेट फ्लड पम्प र बडी फ्रिजर जस्ता अत्याधुनिक उपकरण प्राप्त भएका छन् । चीनका राजदूत झाङ माओमिङले मन्त्री पुनलाई विमानस्थलमा यी सामग्री हस्तान्तरण गरेका हुन् ।
दक्षिण एसियाली छिमेकी मुलुक पाकिस्तानबाट कतार एयरवेजको उडानमार्फत ९२.९६ टन राहत सामग्री नेपाल आइपुगेको छ । पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले मन्त्री पुनलाई हस्तान्तरण गरेको उक्त सामग्री प्रभावित जिल्लाहरूमा पठाइएको छ । यस्तै, युरोपेली राष्ट्र डेनमार्कले नेसनल एयरलाइन्सको विशेष उडानमार्फत ८३.७७ टन राहत सामग्री पठाएको छ ।
भारतले बाढी आएकै दिन भाद्र १० गते भारतीय वायुसेनाको उडानबाट राहत पठाएको थियो । भारतले वायुसेनाका ४ वटा चार्टर उडानमार्फत ४३.९७ टन सामग्री उपलब्ध गराएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, भारतले हालसम्म औषधि, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु, जेनेरेटर सेट, वाटर प्युरिफायर लगायत सहयोग उपलब्ध गराएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल र परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राज भण्डारीलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यी राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
अरब राष्ट्र कतारले सैन्य विमानमार्फत ३७.१४ टन खाद्यान्न र टेन्ट उपलब्ध गराएको छ भने अमेरिकाले ३६.७४ टन मेडिकल सामग्री र राहत सामान पठाएको छ । अष्ट्रेलियाले २४ टन राहत सामग्री रेडक्रसलाई बुझाउनुका साथै खोजी कार्यका लागि २० वटा हाईटेक ड्रोन उपलब्ध गराएको छ ।
यसबाहेक म्यानमारबाट २२.१६ टन, थाइल्याण्डबाट १९.२ टन, मलेसियाबाट २ वटा मिनी ट्रक र जीपसहित ५ टन, र नर्वेबाट २ टन मेडिकल सामान नेपाल आइपुगेको छ । साउदी अरब, सिंगापुर र फ्रान्सले पनि विशेष उद्धार उपकरण र मानवीय सहायता उपलब्ध गराएका छन् ।
राहत सामग्रीसँगै बाढीपछिको उद्धार, सुरुङको अवरोध हटाउने कार्य, शव व्यवस्थापन र बेपत्ताको पहिचानका लागि विभिन्न देशका २०७ जना विशेषज्ञ एवं उद्धारकर्मी नेपाल आएका थिए । विमान फर्किए तापनि १५१ जना विदेशी विशेषज्ञहरू अझै नेपालमै रहेर प्राविधिक कार्यमा जुटिरहेको प्रधानमन्त्री तथा मत्रिपरिषद् कार्यालयले जनाएको छ ।
दक्षिण कोरियाबाट वायुसेनाको विमानमार्फत ५ वटा खोजी कुकुर (स्निफर डग) र फरेन्सिक ल्याब सामानसहित ४५ जनाको टोली नेपाल आएको छ । हङकङबाट आएका ८ जना कोरियाली प्राविधिक रसुवास्थित हाइड्रोपावरमा आफ्ना नागरिक र संरचनाको उद्धारमा खटिएका छन् ।
भारतबाट कर्नेल मृत्युञ्जय दत्तको नेतृत्वमा आएको ११ जनाको डाक्टर तथा टनेल विज्ञ टोली, ३२ जनाको भारतीय सेनाको उद्धार टोली र ११ जनाको प्राविधिक टोली उद्धार तथा उपचार कार्यमा खटिइरहेका छन् । चीनबाट ४ जना उद्धार विशेषज्ञ, ५ जना वरिष्ठ डीएनए तथा फरेन्सिक प्रहरी विशेषज्ञ र १३ जनाको शव व्यवस्थापन टोलीले सहायता गरिरहेका छन् । अष्ट्रेलियाबाट २० वटा ड्रोनसहित १९ जनाको टोली बाढीप्रभावित क्षेत्रमा परिचालित छन् ।
सिंगापुरबाट प्रहरीको टोलीसहित १७ जना, युएईबाट १४ जना टनेल विज्ञ, मलेसियाका १२ जना बन्दोबस्ती विज्ञ, साउदी र लेबनानका ५ जना र फ्रान्सका ४ जना उद्धारकर्मी नेपाली सुरक्षा निकायसँगै फिल्डमा छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त आधुनिक प्रविधि, विशेष गरी चीनको होभरक्राफ्ट र फ्लड पम्प, अष्ट्रेलियाको ड्रोन, कोरियाको स्निफर डग र भारत तथा युएईको टनेल इन्जिनियरिङ टोलीले नुवाकोट र रसुवाका अप्ठ्यारा पहिरो र सुरुङभित्र अड्किएका शव तथा भौतिक संरचना खोतल्न मद्दत गरिरहेको छ । प्राप्त सम्पूर्ण राहत सामग्रीलाई एकद्वार प्रणालीमार्फत प्रभावित जिल्लाका विपद् व्यवस्थापन समितिमार्फत पीडितसम्म पुर्याउने काम भइरहेको छ ।
ताजा अपडेट
-
ग्यास उद्योगीलाई ‘पाता कस्ने’ अभिव्यक्ति दिएकी उद्योगमन्त्री यादवले दिइन् राजीनामा
-
बाढीको पीडामा मित्रराष्ट्रको मल्हम, कुन देशबाट कति सहयोग आयो ?
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद् बैठक
-
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै


प्रतिक्रिया