NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ २६ गते

देशभर मनसुनी प्रभाव: केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतर्फ तथा पूर्वमा सरदर स्थानकै आसपास रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

यसैगरी, मधेस प्रदेश र बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराई भू-भागका धेरै स्थानमा र कोशी तथा सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा पनि मेघगर्जनसहितको वर्षा हुनेछ। विशेषगरी मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका साथै मधेस प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना कायम रहनेछ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।